इटहरी :नेपाल राष्ट्र बँैकले विद्युतिय कारोबार गर्न हौसला दिँदै विद्युतीय भुक्तानी प्रणाली लागू भएका भन्सार कार्यालयमार्फत हुने आयातमा चेक जारी गर्न नपाइने व्यावस्था गरेको छ ।
केन्द्रीय बैंकले शुक्रबार विदेशी विनियम कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । तथापि, धरौटी रकम भने चेकमार्फत पनि लिन पाइने व्यवस्था गरेको छ ।
मालसामान आयातको भुक्तानीका लागि प्रचलित व्यवस्थाअन्तर्गत रही प्रतीतपत्र, ड्राफ्ट वा टीटीको माध्यमबाट भारतीय रुपैयाँको सटही प्रदान गर्न सकिने व्यवस्था छ । तर, ३ करोडभन्दा बढी भारतिय रुपैयाँको बस्तु आयात गर्दा अनिवार्य रुपले प्रतीतपत्रमार्फत गर्नुपर्ने केन्द्रीय बैंकको भनाई छ ।
विद्युतीय भुक्तानी प्रणाली लागू भएका भन्सार कार्यालयमा आयातको लागि लिनु पर्ने धरौटी रकम पनि विद्युतीय माध्यमबाट नै भुक्तानी गर्नुपर्नेछ ।
मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैँकले यस बर्षलाई विद्युतिय भुत्तानीको बर्षको रुपमा लिने घोषणा गरेको थियो । कारोबार विद्युतिय माध्यमबाट भए पारदर्शिता र सिस्टमबाटै चेक हुने भएकाले विद्युतिय भुत्तानीमा राष्ट्र बैँकले जोड दिएको थियो । यता, नेपाली नागरिक तथा नेपालमा विधिवत दर्ता भएका फर्म, कम्पनी, संघ संस्थाले भारतस्थित नियोग, संघ, संस्था, कम्पनीसँग लिने विभिन्न सेवा सुविधाको लागि ३ लाख भारतिय रुपैयाँसम्म सटही गर्न पाउने व्यवस्था गरेको छ ।