बराहक्षेत्रः लामो समयदेखि दीर्घकालीन रोगको रुपमा रहेको बाङ्गे नडाह हुँदै धरान जोड्ने सडक कालोपत्रेका लागि १ नम्बर प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक कालोपत्रेको लागि टेन्डर आह्वान गर्दै २२ करोड २४ लाख बजेट विनियोजन गरेको हो ।
टेन्डर आह्वानका लागि मन्त्रालयद्वारा पौष १६ गते सूचना प्रकाशन हुनासाथ स्थानीयहरुमा चर्को दोहोरी सुरु भएको छ । सडक कालोपत्रे हुन भने बाकी नै रहेपनि सामाजिक संजालमा बजेटका लागि पहलकदमी कसले गर्यो भन्नेबारे होडबाजी मात्रै होइन् रुवाबासी नै देखिन्छ ।

वास्तविक ‘जस’को हकदार को ?
बराहक्षेत्र नगरपालिका
थोरै इतिहास नियालौं । दुई वर्षअघि सडकको दुर्दशाले स्थानीय पीडित थिए । उनीहरूले सडक स्तरउन्नतिका लागि कयौंपटक नगरपालिका गुर्हादा पनि वेवास्ता गरिइएको थियो । सडक कालोपत्रेको लागि प्रदेश र संघीय सरकारसँग पहल गरिने छ भन्दै नगरले प्रत्येक नगरसभामा नारा लगाइरह्यो । तर नारा नारामै मात्र सिमित रह्यो । यद्यपि चौतर्फी दबाब भएपछि भने बराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा तत्काल कार्यान्वयन हुनेगरी बाङ्गे नडाहा सडक निर्माणका लागि नगरपालिकाले १५ लाख विनियोजन गरेको थियो । नगरको सोही बजेट र ३ लाख ६९हजार ३सय ३३ जनश्रमदानले उपभोक्ता समिति गठन गरि मर्मत गरिएको थियो । यद्यपि ६ इन्च गिट्टी र त्यसपछि जेसिबिको प्रयोगद्वारा मिस गिट्टीपछि ग्रेडर–रोडर गरि सम्पन्न भएको काम दुई महिना बित्न नपाउँदै यथास्थितिमा पुगिसकेको थियो ।

संघीय सांसद जयकुमार राई
सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट धरान निवासी जयकुमार राई निर्वाचित भएर संघीय सांसद बने । तर उनले सधै शहर केन्द्रित बिकासमा मात्र जोड दिएको आरोप खेपिरहे । बराहक्षेत्रका ५ वडा र रामधुनीका २ वडा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भएपनि निर्वाचित भएपछी उनी मुस्किलले त्यतातिर देखिने गरेको स्थानीय बताउँछन् । स्थानीयकाअनुसार आफ्नै क्षेत्रमा पर्ने सडक भएपनि संघीय सांसदले पहलकदमी गरेनन् । यसबीचमा बराहक्षेत्रबासीहरुले कयौंपटक उनलाई यसबारे बिन्ती बिसाए, तर केही पार लागेन् ।

269835858_258897063000045_8821182859138915621_n

प्रदेश सांसद भीमप्रसाद आचार्य
भीमप्रसाद आचार्य बिगत दुई दशकदेखी सुनसरीलाई कार्यक्षेत्र बनाएर राजनीति गर्दै आएका छन् । यस मानेमा पनि उनी यहाँको जनताको समस्यासँग परिचित छन् । गत ०७४ सालको प्रदेशसभा चुनावमा पनि आचार्य क्षेत्र नम्बर १(ख) बाट निर्वाचित भए । अझ चाखलाग्दो कुरा के भने, चुनावअघि उनको पहिलो प्राथमिकता बराहक्षेत्र धरान जोड्ने सडक कालोपत्रे थियो तर चुनावपछि कता हरायो कता ? यसबीचमा आचार्य प्रदेश एकका मुख्यमन्त्री समेत बने । तर आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उक्त सडकको दुर्दशा देखेर पनि नदेखेझै गरेको स्थानीयले आरोप लगाउदै आएका छन् ।
मन्त्री र मन्त्रालयहरु
बर्षौ बितिसक्दा समेत उक्त सडक कालोपत्रे नहुनु प्रदेश र संघीय सरकारको ध्यानाकर्षण नभएको वा स्थानीय नेता र सांसदले ध्यानाकर्षण गराउन नसकेको बुझिन्छ । यद्यपि केही नभएको भने किमार्थ हैन । आश्वासन पटकपटक भएको छ । संघीय सांसद मीन विश्वकर्मा, वर्तमान परराष्ट्रमन्त्री डा. नारायण खड्काले समेत सडक पुनर्निर्माणको आश्वासन नदिएका भने हैनन् । तर यसपटक भने अनौठो संयोग भनौ या वास्तविकता ? गत पौष ११ गते नेपाल सरकारका सूचना, प्रबिधि तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र प्रदेश १ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री हिमाल कार्कीको उपस्थितिमा सप्तकोशी बहुमुखी क्याम्पसले अन्तरक्रिया कार्यक्रम गरेको थियो । स्थानीयको गुनासोलाई सम्बोधन गर्दै सोही कार्यक्रममा संचारमन्त्री कार्कील बाङ्गे–धरान जोड्ने बाटो प्रदेश सरकारले कालोपत्रे गर्छ, यदि प्रदेशले गरेन भने अर्को बजेट यहीँ बाटोको लागि विनियोजन गर्नेछुु भन्ने खाल्को प्रतिबद्धता जनाएका थिए । नभन्दै हप्ता दिन नबित्दै सडक कालोपत्रेको लागि बजेट विनियोजन भयो ।
टोले नेतादेखि माननीयसम्म ‘जस’ लिनेको ताँती
प्रदेश सरकारले टेन्डर आह्वान गरेको केही समय बित्न नपाउँदै स्थानीय नेताहरुले जस लिन सुरु गरिसकेका थिए । नेकपा समाजवादीका कार्यकर्ताहरु एक नम्बर प्रदेश सरकार र मुख्यमन्त्री राजेन्द्र राईलाई श्रेय दिन थाले भने कांग्रेसका कार्यकर्ताहरु संघीय मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई जस दिइरहेका छन् । यता एमाले कार्यकर्ता भने केपी ओलीले शिलान्यास गरेको सडकको सपनाले मुर्त रुप पाएको जिकिर गर्दै आएको देखिन्छ ।

269969430_401215291800409_4253349394591623017_n

 यसैसन्दर्भमा संघीय सांसद जयकुमार राई पनि श्रेय लिने विषयमा पछि परेनन् । सामाजिक संजाल फेसबुकमार्फत उनले लेखेका छन्–‘करिब ३ बर्षको निरन्तर प्रयास गरे अनुसार यो भन्दा अघि केपि ओलीको सरकारको पालामा १६५ निर्बाचन क्षेत्रमा १ रणनिति सडक निर्माण निर्माण गर्ने निर्णय गरे अनुसार सुनसरी क्षेत्र नं १ को थुप्रै सडक निर्माण गर्नु पर्ने रहेता पनि बाङ्गे– धरान जोडने रणनितिक महत्वको रहेको हुदा त्यस क्षेत्रबाट निर्बाचित संसदले सिफारिस गर्नु पर्ने कार्यबिधि अनुसार मैले यस सडकलाई सिफारिस गरे अनुसार धेरै पटक डिपिआर बन्ने क्रमदेखि निरनतर फलोअप मै रहेको थिए चाडो गर्न मन्त्रालयमा दबाब दिए अनुसार आजै बिराटनगर बाट टेण्डर आहान गरिएको जानकारी प्राप्त भएको सम्पुर्ण उपभोक्ताहरुमा जानकारी गराउन चाहान्छु ।’
माओवादी केन्द्रकी नेतृ तथा तत्कालीन नेकपाकी समानुपातिक सांसद उमिता बिश्वकर्मा (रिमा) पनि के कम ? उनले पनि फेसबुकमा लेखेकी छन्,– ‘बाङ्गे नडाहा हुदै धरान सडक आजबाट टेन्डर आवाहान भएको छ।यसको लागि माननीय अर्थमन्त्री जनार्दन शर्मालाई पटक पटक मन्त्रालय तथा निवासमा भेटेर सिफारिस तथा अनुरोध गरेको थियौ। यसको मुल्याङन गरि बजेट बिनियोजन गर्नुभएकोमा हार्दिक धन्यवाद । साथै सुचना तथा सञ्चार मन्त्री माननीय ज्ञानेन्द्र ब कार्की प्रदेश १ का माननीय मुख्यमन्त्री राजेन्द्र राई लगायत त्यस क्षेत्रका सम्पुर्ण माननीयज्युहरुलाई बिशेष आभार तथा बराहक्षेत्र र धराने जनसमुदायलाई हार्दिक बधाई । ’
बराहक्षेत्र नगरपालिका धरानसँग धेरै विषयहरुमा निर्भर रहनुपर्ने भएकाले पनि यस सडकलाई महत्वपूर्ण मानिन्छ । बाङगे देखी नडाहासम्म झण्डै ४ किलोमिटरको यस बाटोको स्तरोन्नति हुनुपुर्व आहाल जस्ता खाल्डाखुल्डी प्रत्येक पाइलामा छ । बाटो कालोपत्रेपछि भने बराहक्षेत्रदेखि धरान जाने एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यकीय सेवाहरुलाई सहज हुनेछ ।