इटहरी  : नेकपा एमाले सुनसरीले पुस २३ र २४ मा जिल्ला अधिवेशन गर्ने भएको छ । दशौ रास्ट्रीय महाधिवेशनमा गैडाको मस्कट प्रयोग गरेको एमालेले जिल्लाको अधिवेशनमा अर्ना भएको पोस्टर प्रयोग गर्ने भएको छ ।

एमाले सुनसरीको सातौँ अधिवेशनमा कोशीटप्पुमा मात्र पाइने बुबालिस जातको अर्नाको पोस्टर प्रयोग गर्ने निर्णय गरेको अधिवेशन प्रचार समितिका संयोजक लोकेश निरौलाले बताए । पौष २३ र २४ गते हुने जिल्ला अधिवेशनको जानकारी दिने क्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष खेमराज पोख्रेलले पोस्टर सार्वजनिक गरेका थिए ।ruml-adhibeshan-sunsari

इनरुवा स्थित खेलमैदान (जेल फिल्ड) मा हुने अधिवेशनमा २ हजार बढी प्रतिनिधि र पर्यवेक्षक सामेल हुने एमालेले जनाएको छ । अधिवेशनले आगामी कार्यकालकालागि नेतृत्व निर्माण र राजनैतिक एवं साङ्गठनिक अवस्थाको बिचार, विमर्श र विश्लेषण गर्ने बताइएको छ।

गत असोज १५ देखि १७ मा सम्पन्न प्रथम विधान अधिवेशनले गरेको व्यवस्था बमोजिम जिल्ला अधिवेशनले एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने जनाएको छ । विधानको व्यवस्था बमोजिम १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उप–सचिव सहित १३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरिने जनाइएको छ ।

अधिवेशनमा भूगोल तथा १८ वटा क्रियाशील जनसङ्गठनहरूबाट प्रतिनिधित्व गराइने भएको छ । वडा स्तरबाटै प्रतिनिधि आउने भएकाले एकसाथ पौष १७ गते छनौट गरिने प्रचार उपसमितिका संयोजक लोकेश निरौलाले जानकारी दिए । अधिवेशन हुन बाँकी गढी, देवानगञ्ज गाउँपालिका र इनरुवा, दुहबी नगरपालिकाबाट पनि प्रतिनिधि आउने छन् ।


२५ जना सङ्गठित सदस्य बराबर १ जना र प्रत्येक ३ जना प्रतिनिधिमा १ महिला अनिवार्य गरी एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको प्रचार समितिका सहसंयोजक रवी खनालले बताए । त्यसैगरी पालिकाको कुल दलित सदस्य सङ्ख्यालाई आधार मानी २० दलित सदस्य बराबर १ जनाको दरले प्रतिनिधि छनौट गरिने भएको छ।

अधिवेशन सम्पन्न गर्न कुल २० लाख खर्च हुने अनुमान गरिएको छ । खर्चको व्यवस्थापन प्रतिनिधि एवं कार्यकर्ता, शुभेच्छुकहरूबाट सङ्कलन गरिने छ ।