इटहरीः मोरङ्गको बिराटनगरमा कर्पोरेट कार्यलय रहेको सप्तकोसी डेभलपमेन्ट बैंकका सीइओ नविन सुवेदी सहित ३ जनालाई बुधबार(आज) प्रहरीले पक्राउ गरेको छ । १५ करोड भन्दा माथिको रकम हिनामिना गरेको घटनामा उनिहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
बुधबार प्रहरीको टोलीले बैंकको कार्यालयमै पुगेर सीइओ सुवेदीलाई पक्राउ गरेको हो । उनिसंगै बैंकका फाइनान्स हेड देवीप्रसाद भण्डारी र अप्रेशन हेड अमित थापामगरलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि रकम हिनामिना गरेको आरोपमा सिइओ सुवेदीको नाताले भाई पर्ने सोही बैंकका रेमिट शाखाका प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरेको थियो । भट्टराई पक्राउ परेपछि आफन्तले पत्रकार सम्मेलन गरि सीइओ सुवेदीकै संलग्नतामा बैंकको १५ करोडमाथिको रकम हिनामिना भएको दावी गरेका थिए । आफन्तले भट्टराई मात्र पक्राउ गरि अरुलाई जोगाउन खोजिएको भन्दै पत्रकार सम्मेलनमार्फत आपत्ति जनाएका थिए । अनुसन्धानमा खटिएको प्रहरीले सुवेदीमाथि पनि शंका गरि अनुसन्धान अघि बढाएको थियो ।
बँैकको रेमिट्यान्स तर्फको १५ करोडभन्दा बढी रकम हिनामिना भएको पाइएपछि केन्द्रिय बैँक, सिआईबी र प्रहरीले सयुक्त रुपमा त्यसको अनुसन्धान गरिरहेका छन् भने पछिल्लो अनुसन्धानका क्रममा बैङ्कका सीइओ नवीन सुवेदी र रेमिट शाखाका प्रमुख हिमाल भट्टराईको मिलेमतो भएको कुरा बाहिर आएको थियो ।
पक्राउ परेका भनिएका भट्टराई र सिइओ सुवेदी नाताले दाजुभाइ अर्थात मामा–फुपूका छोरा हुन । उनीहरूमाथि आफन्तको फेक एकाउन्ट बनाएर रकम ट्रान्सफर गरेको आरोप छ । बैँकले ठुलो रकम हिनामिना भएपछि आन्तरिक अनुसन्धान गर्दै प्रहरी र केन्द्रिय बैँकलाई पनि अनुसन्धानमा सघाउन भन्दे निवेदन दिएपछि तिव्ररुपमा अनुसन्धानको काम भईरहेको छ । रेमिट शाखाबाट भएको अपचलनमा बबिता सुवेदीको नाममा १४ करोडभन्दा बढी रकम ट्रान्सफर भएको राष्ट्र बैङ्कमा परेको उजुरीमा उल्लेख छ । उनी सिइओ सुवेदीको नाताले बहिनी पर्छिन ।
हिमाल भट्टराईको विभिन्न पाँचवटा बैङ्कको खातामा एक करोड रुपैयाँ जम्मा गरेका छन । बैङ्कको पैसा उनले आफ्नो खातामा राखेको खुलेको हो ।
हिनामिनाको विषय बाहिर आएपछि प्रहरीमा जाहेरी दिइएको बैँकको भनाई छ । बैङ्कले उजुरी दिएपछि जिल्ला प्रहरी मोरङले भट्टराईलाई मङ्सिर १९ मा नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । पक्राउ परेका भट्टराई ६ वर्षदेखि उक्त बैङ्कमा कार्यरत छन् ।
करोडौ रकमको हिनामिना भएकाले एक जनाले मात्रै यत्रो ठुलो रकम हिनामिना गर्न नसक्ने भन्दै बैङ्क र राष्ट्र बैँकले पनि एक भन्दा बढि व्यक्तिको संलग्नता भएको हुन सक्ने भन्दै नयाँ सिराबाट अनुसन्धान गर्न लागेको बताएको छ । हिनामिनामा बैँकको कर्जा शाखा, सिइओ सुवेदि सहित , जिएसडि बिभाग र अन्य केहि कर्मचारीको पनि संलग्नता आशँका गरिएको स्रोत बताउँछ ।