इटहरी:नेपाल राष्ट्र बैँकले कम्पनी तथा फर्महरुमार्फत पुनरकर्जा लिएर व्यावसायलाई गति दिन दिएको सुविधा अन्तर्गत प्रदेश १ का विभिन्न फर्म तथा कम्पनीहरुले १ अर्व ५२ करोड रुपैया बराबरको पुनरकर्जा लिएका छन् ।
चालु आर्थिक बर्षको सुरु देखि मंसिर महिना सम्मको तथ्याँकको आधारमा हालसम्म ११ अर्ब ८४ करोड रुपैयाँको पुनरकर्जा स्वीकृत भएको छ ।
जसमध्ये बाग्मति प्रदेशले सबैभन्दा बढि पुनरकर्जाको उपभोग गरेको छ भने कर्णाली प्रदेशमा पुनरकर्जाको उपभोग भएकै छैन ।
प्रदेश एक का ह्याप्पी ल्याण्ड फन पार्क एण्ड रिसोर्ट प्रालि, सुपर माई हाइड्रोपावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडले २० करोडका दरले पुनरकर्जा लिएका छन् । पाथीभरा इङ्गलिस बोर्डिङ्ग स्कुल सुनसरी प्रालिले ६ करोड ६४ लाख अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले २० करोड, सेन्ट्रल मल्टिप्लेक्स प्रालिले ७ करोड २८ लाख, नेपाली रिका होटल प्रालिले २० करोड, पुर्वी नेपाल यातायात व्यावसायी प्रालिले १ करोड ७० लाख पुनरकर्जा लिएका छन् । यसैगरी प्रदेश एकमा पुनरकर्जा लिने अन्य कम्पनीहरुमा लिलिपुट प्रिमियर एलिमेन्टि स्कुल एण्ड बिराट चिल्डेन एकेडेमी प्रालिले ९ करोड ७१ लाख, होटल इस्टर्न व्लु प्रालिले ६ करोड ७० लाख र रावा इनर्जी डेभलपमेन्ट प्रालिले २० करोड पुनरकर्जा सुविधा विभिन्न बाणिज्य बैँकहरुबाट लिएको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
पुनरकर्जामध्ये विशेष पुनरकर्जा १० वटा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ १५ वटा कम्पनीहरुले पाएका छन् भने साधारण पुनरकर्जा भने २७ बैंक तथा वित्तीय संस्थाहरुबाट ७६ वटा कम्पनीहरुले ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ बराबरको पुनरकर्जा पाएका छन् ।
प्रदेशगत आधारमा पुनरकर्जा ई विभाजन गर्दा सबैभन्दा बढी पुनरकर्जा बागमती प्रदेशबाट माग भएको देखिन्छ । कुल पुनरकर्जा बागमती प्रदेशको हिस्सा ४७.६६ प्रतिशत रहेको छ । बागमती प्रदेशका कम्पनीहरुको ५ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पुनकर्जा स्वीकृत भएको छ । सबैभन्दा कम पुनरकर्जा भने सुदुर पश्चिम प्रदेशमा गएको छ । सुदुर पश्चिम प्रदेशले कुल पुनरकर्जाको ०.८३ प्रतिशत मात्रै उपभोग गरेको छ । दोस्रो ठूलो पुनरकर्जा प्राप्त गर्नेमा भने लुम्बिनी प्रदेशका कम्पनीहरुले पाएका छन्। कुल कर्जामा लुम्बिनी प्रदेशको हिस्सा २२.६६ प्रतिशत छ । लुम्बिनी प्रदेशका कम्पनीहरुले २ अर्ब ६८ करोड ३६ लाख रुपैयाँ बराबरको पुनरकर्जा उपयोग गरेका छन् ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको मंसीर मसान्तसम्मको तथ्यांक अनुसार ९१ कम्पनीहरुले २९ वटा बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ८४ करोड ७ लाख रुपैयाँ पुनरकर्जा प्राप्त गरेका हुन् ।