इटहरी :रित्त रहेको शिक्षक दरबन्दि पुर्ति गर्न शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको प्राथमिक तहमा नयाँ शिक्षक भर्ना खुलाएको छ।
मंगलबार एक सूचना प्रकाशित गर्दै आयोगले ७७ जिल्लाका लागि प्रावि तहमा १३ हजार ९३ जना शिक्षक पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । विज्ञापन गरिएको रित्त पदमा खुल्ला ७ हजार २०३, महिला १ हजार ८५४, दलित महिला ६० र मुस्लिम महिला ३० जना पदपूर्ति गर्ने गरि आवेदन आव्हन गरिएको छ ।
यसैगरी आदिवासी जनजाति १ हजार ५९०, मधेसी १ हजार २९८, दलित ५३१, अपांगता २९३ र पिछडिएको क्षेत्र २३४ जनालाई दरखास्त आह्वान गरिएको छ।
१८ बर्ष पुरा भई ४० बर्ष ननागेका इच्छुक उम्मेदवारले आउँदो माघ १३ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरी माघ २० गतेसम्म दरखास्त दिन सकिनेछ । दरखास्त अनलाइनमार्फत बुझाउनुपर्ने आयोगले बताएको छ ।