इटहरीः दलहरुका नाममा आन्दोलन नभए अतिक्रमण गरी खोला पैनीका छेउमा बनाईएका घर तथा संरचना भत्काउन इटहरी उपमहानगरपालिकाले तत्परता देखाउने भएको छ ।
सोमबार इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले खोला तथा नहर पैनीमा अतिक्रमण गरी घर तथा संंरचना बनाउँदा बाढीले इटहरीलाई असर गर्ने गरेको भन्दै ती संरचनालाई भत्काउन नगरपालिका तत्पर रहेको बताएकी हुन् ।
नागरिक समाज इटहरीले इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको सरोकारवालासँग अन्तरसम्वाद कार्यक्रममा इटहरीको डुवानलाई हटाउन के गर्न सकिन्छ भन्ने जिज्ञासामा उपप्रमुख गौतमले इटहरीका दलहरुले लिखित सहमति गरे अवको १५ दिनमा अतिक्रमित संरचना भत्काउन थाल्ने बताइन् । उपमेयरको आवाजलाई कार्यक्रममा उपस्थित नेकपा माओवादी, नेकपा एमाले, राप्रपा , नेपाली काँग्रेसले अतिक्रमित संरचना भत्काउँदा आफुहरुको साथ रहने वचन दिएका थिए । बर्षेनी इटहरीले खेपिरहेको डुवानको समस्या समाधान गर्नका लागि नहर र खोलाहरुलाई आफ्नो बाटोमा हिड्न नदिई अतिक्रमण गरेर संरचना बनाएका कारण त्यसको बाटो खुल्ला गर्नु आजको आवश्यकता रहेको गौतमको भनाई थियो । इटहरी उपमहानगरपालिका पुर्व पश्चिम राजमार्गकै सबैभन्दा होचो ठाउँ भएकाले पानी जम्ने समस्या इटहरीले पहिले देखि नै खेपिरहेको उपप्रमुख गौतमले बताइन् ।

270171739_661425601534573_5327272797478500475_n
इटहरीका राजनितिक दलका नेताले मन्त्री भएर संघिय सरकारमा दवाव सिर्जना गर्नु पर्ने र बहुबर्षीय योजना ल्याएर मात्रै इटहरीलाई डुवानको समस्याबाट मुक्ति दिलाउने काम थालिनु पर्ने उनको भनाई छ । धरानदेखि इटहरीसम्मको राजमार्ग हिउँदमा मात्रै राजमार्ग र बर्षामा खोला भएकाले तरहरादेखि उताबाट आउने पानीलाई सेउती खोलातिरै लाने व्यावस्था मिलाउनु पर्ने उपमेयर गौतमले बताइन् । टेग्राँ खोलाको पानी बुढी खोलामा मिलाने कुरा आएपनि त्यो चानचुने बजेटले सकिने काम नभएको गौतमले बताइन् ।“ नगरको बजेटले हुने कुरा छैन हामीले प्रदेश र संघिय सरकारमा कुरा राखेका छौँ । ”उपमेयर गौतमले भनिन् ।
देशका अन्य उपमहानगर भन्दा इटहरी पछाडी परेको स्वीकार्दै उपमेयरले जनसंख्यामात्रै पुगेका कारण इटहरी उपमहानगर भएको र अन्य सुचकाँकमा पछाडी नै रहेको खुलाइन् ।“ उपमहानगरपालिका हुनलाई ९ वटा सुचाँकहरु पुरा गरेको हुनुपर्छ हामी जनसंख्याको हिसावले मात्रै उपमहानगर घोषित भएका हौँ अहिले केही विकास भएता पनि हामी पछाडीनै छौँ ।” गौतमले थपिन् ।
आफुहरुले गाउँकेन्द्रित कार्यक्रमहरु ल्याएका कारण इटहरीको शहरी क्षेत्रमा विकास नपुगेको गौतमको भनाई थियो । इटहरीको ट्राफिक व्यस्तताको प्रश्नलाई सम्बोधन गर्दै प्रदेश एक प्रहरी कार्यलयका प्रहरी निरिक्षक होमनाथ दाहालले बुढी खोलाको पुलको खाल्डा पुर्नमात्रै पाए इटहरीको ट्राफिक जाममा सुधार हुने बताए । सबैले आफ्नो काम बेलैमा गरे समस्या नआउने दाहालको भनाई थियो । अन्तक्रियाका सहजकर्ता कमलेश शर्मा पौडेलले इटहरीको गोलो चोकको ट्राफिक जामलाई नियन्त्रण गर्न जेव्रा क्रसिङ्ग भन्दा पहिलै गाडीहरु रोक्न सके गोलो चौकको ट्राफिक नियन्त्रण गर्न सकिने सुझाव राखेका थिए । उता यातायातमा सवारी लाइसेन्सको विषयमा भएको समस्यालाई सुझाउन इलाम र गाईघाटमा लाइसेन्सको फाराम खुलाईसकेको र चाँडै इटहरी, धनकुटा, ओखल्ढुङ्गा र विराटनगरबाट खुलाउने प्रदेश यातायात निर्देशानालयका भिम गौतमले बताए ।
नागरिक समाज इटहरीकी वरिष्ठ उपाध्यक्ष बालिका खड्का भट्टराइले स्वागत गरेको कार्यक्रमलाई समाजका महासचिव भोलाकाजी बस्नेतले सन्चालन गरेका थिए । कार्यक्रममा इलाका प्रहरी इटहरीका डिएसपी खगेन्द्र खड्का, नागरिक समाजका पदाधिकारीहरु, निवर्तमान अध्यक्ष, पुर्व अध्यक्षहरु राजनितिक दलका प्रतिनिधि र संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रम नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।