इटहरीः शेयर बजारमा नयाँ आईपिओ नआउँदा एक थरी लगानीकर्ताहरु प्रभावित बनेका छन् । सर्वोत्तम सिमेन्टको आइपिओ निस्कासन प्रक्रियामा जाँदै गर्दा इन्साइड ट्रेडिङ्ग गरेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई सरकारले निलम्बन गरेपछि आईपिओ निस्कान प्रक्रिया नै अवरुद्ध बनेको हो ।
निवेदन दिएर धितोपत्र बोर्डको स्वीकृतिको पर्खाईमा बसेका आईपिओ लाई विस्तारै निस्कासनको प्रक्रियामा लग्ने भनिएको भएपनि ठुलो संख्यामा साधारण सेयर निस्कान भएका छैनन् । आईपिओ निस्कासनको प्रक्रिया नै अवरुद्ध भएपछी आईपिओको पर्खाइमा बसेका लगानीकर्ता त निरास छन् । जसलाई आईपिओ निस्कासनको चिन्ता छैन र दोस्रो बजारमा कारोबार गरीरहेका छन् उनिहरु पनि तलरताको समस्याले सेयर बजार परिसुचक निकै तल झरेपछि लगानी गुम्दा निरास छन् ।
अहिलेको बजारमा कमाउने भन्दा गुमाउने लगानीकर्ता धेरै देखिएका छन् । कतिले त शेयर बजारको बिकल्पको रुपमा कमोडिटिज मार्केटमा प्रवेश समेत गरिसकेका छन् ।
धितो पत्र बोर्ड सम्बद्ध स्रोतका अनुसार अवको साधारण सेयर निस्कासनको स्वीकृति धितोपत्र बोर्डले नयाँ अध्यक्ष नपाएसम्म अनिश्चित नै छ ।
बोर्डले अध्यक्ष पाएपछि पनि धितोपत्र बोर्डको अर्को सन्चालक बोर्डले स्वीकृति दिएपछि मात्रै कम्पनीहरुको आईपिओ निस्कासन प्रक्रियालाई अगाडि बढाउन बोर्डले निर्देशन दिन सक्छ ।
यही बीचमा नेपाल सरकारले यसअघि बनेको अध्यक्ष छनौट समिति खारेज गरिसकेको छ भने अव अध्यक्षको छनौटका लागि अर्को समिति बनाइएको छ । जति जति अध्यक्षको छनौट प्रक्रिया ढिला हुन्छ त्यतिनै बजारले नयाँ आईपिओ पाउने प्रक्रिया ढिलो भएको धितोपत्र सम्बद्ध स्रोतको भनाई छ । ऐनमा धितोपत्र बोर्डको अध्यक्षको अनुपस्थितीमा कसरी स्वीकृती लिने भन्ने सम्बन्धमा केहि नबोलेका कारण अध्यक्षको पर्खाइ गर्नुपरेको बताइएको छ ।
अहिलेको धितोपत्र बोर्डको सन्चालक बोर्डले अहिलेलाई गर्नै पर्ने र नगरी नहुने विषयलाई मात्रै स्वीकृति दिएका छन् भने बाँकी बिषय थाति राखिएका छन् । नेपाल राष्ट्र बैकको निर्देशन अनुसार बैकहरुले ऋणपत्र निष्कासन गर्नु पर्ने र पूँजी वृद्धिको लागि हकप्रदमा जानै पर्ने बाध्यतामा केही संस्था रहेकोले उनीहरूलाई दिनैपर्ने बाध्यता भएको हुदा ऋणपत्र र हकप्रद सेयर निस्कासनको अनुमति भने सन्चालक बोर्डले दिएको छ तर सन्चालक बोर्डको अध्यक्षता गर्ने धितोपत्र बोर्डको अध्यक्ष भने रित्त नै छ । बाध्यता नभएका र नियमित कम्पनीको योजना अनुसार आएकालाई भने बोर्डले प्राथमिकतामा नराखेको पाइन्छ ।

dhitopatra
बोर्डको अध्यक्ष छनौट प्रक्रियालाई अल्झाइँदा लगानीकर्ताले लगानीको एकातिर लगानीका अवसरहरु गुमाउँदै गएका छन् भने अर्को तिर  कम्पनीहरूको पूँजी सङ्कलन गर्ने प्रक्रिया ठप्प भएको छ । चालु आर्थिक बर्षमा जम्मा ३ वटा कम्पनीले मात्रै आईपिओ निस्कासन गर्ने अनुमति पाएका छन् भने बाँकी कम्पनी धितोपत्र बोर्डको स्वीकृतिको पखाईमै छन् ।
बोर्डको डेटा अनुसार आईपिओ निस्कासनको पखाईमा अहिले पनि २८ कम्पनी भएपनि केहि कम्पनीको सबै प्रक्रिया सकिएता पनि अन्तिम स्वीकृति लिन पाएका छैैनन् । बजारमा आउँनै लागेको सात अर्ब ३९ करोड ६६ लाख चार सय रुपैयाँ बराबरका ६ करोड ७२ लाख ४६ हजार चार कित्ता शेयर पाइप लाइनमा छ ।
उता नेपाल स्टक एक्चेन्जको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति पनि भएको छैन् । नेपाल स्टकले पनि प्रमुख कार्यकारीको नियुक्ति नहुँदा गर्नै पर्ने काम बाहेक अन्य काम गर्न पाएको छैन् ।