बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाले करार कर्मचारी छनौट गर्दा योग्य र सक्षम जनशक्तिलाई अस्वीकृत गरि आसेपासेलाई स्थान दिएको भन्दै छानबिनका लागि निबेदन पेश भएपछि छानबिन समिति गठन भयो । राम ढकालको संयोजकत्वमा समिती गठन भएको आज पाँच दिन बितिसक्दा पनि समिति मौन बसेको पाइएको छ ।

कर्मचारी छनौटको जिम्मेवारी पाएको प्रशासन शाखाका कर्मचारी तालिममा काठमाडौ गएकाले छानबिनमा ढिलाइ भएको प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र मल्लले बताएका छन् । यद्यपि प्रशासन शाखाका प्रमुख अधिकृत राजकुमार गौतम आफन्तको बिहेमा काठमाडौ गएको बुझिएको छ ।
ढकालको संयोजकत्वमा अरुणकुमार मेहेता र पबित्रा निरौला समितिका सदस्यका रूपमा रहेका छन् । समितीमा रहेका तीनैजना कार्यालयमै भएपनि कर्मचारी छनौटमा देखिएको असन्तुष्टिलाई वेवास्ता गर्दै कानमा तेल लगाएर बसेको निवेदकहरुको आरोप छ ।
नगरपालिकाले आव्हान गरेको कर्मचारी दर्खास्तको सूचनामा फर्म भरेर प्रयोगात्मक परीक्षा दिएको तर आफूहरूभन्दा असक्षम व्यक्तिहरु छनौट गरिएको ठहर गर्द पाँच आबेदकले नगरपालिका कार्यालयमा निवेदन दर्ता गरेका थिए । निबेदन गर्नेहरुमा सत्यतथ्य छानबिनको माग गर्दै निवेदन दर्ता गराउनेहरुमा शेखर श्रेष्ठ, बिकाश कटवाल, लक्ष्मी राजधामी, अम्बिका कुलुङ र सीता दाहाल रहेका छन् ।
योग्यता र क्षमता हुँदाहुँदै पनि राजनीतिक दल र सत्ताको आडमा आफूहरूलाई अस्वीकृत गरिएको उनीहरूको दाबी छ । प्रदेश पोर्टलसँगको कुराकानीमा निबेदक मध्येका एकले भनेका छन् ुविभिन्न बहानाबाजीमा नगरपालिकाका कर्मचारी र छानबिन समितीले वेवास्ता गरिरहेको छ, न कुनै ठोस निर्णय दिन्छ, न वास्ता गर्छ । उनकाअनुसार छनौट भएका आसेपासे आवेदकको भने काम सुरु हुने चरणमा छ । यद्यपि प्रमुख प्रशासकीय अधिकृत मल्लले छनौटमा परेका कर्मचारीको काम सुरु हुनुपूर्व नै निवेदनको सुनुवाइ हुने आश्वासन दिएका छन्।
नगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पत्रचारमा गत मंसिर १२ गते कर्मचारीको आह्वानको बिज्ञापन जारी गर्दै नगरपालिकाभित्र गरिब परिवार पहिचान तथा परिचय तथा वितरण कार्यक्रमका लागि २ जना सुपरिवेक्षक र १४ जना गणक पदका कर्मचारी आह्वान गरेको थियो ।
जारी मितिले १५ दिनभित्र ९५ ले दरखास्त पेश गरेको नगरपालिका कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार आवेदन परेका ९५ मध्ये ७ जनाको आवश्यक कागजात नपुगेर दर्खास्त फाराम अस्विकृत गरिएको थियो ।
दुई जनाको पुनः दर्खास्त स्वीकृत गरेपछी दोस्रो चरणमा उनीहरूको अन्तरवार्ता तथा प्रयोगात्मक परीक्षा लिइएको नगरपालिका स्रोतको भनाइ छ । आवेदकबाट छनौट गरिने सो अन्तिम चरणअन्तर्गत कम्प्युटरसम्बन्धि प्रयोगात्मक परीक्षाबाट २ सुपरिवेक्षक र १४ गणक छनौट भएको नामावली प्रकाशन भएपछि नगरपालिकाले मनपरि कर्मचारी छनौट गरेको आरोपसहित चौतर्फी विरोध भइरहेको छ ।