बराहक्षेत्रः क्यान्सर किन त्यति दर्दनाक हुन्थियो र, त्योभन्दा कयौंगुणा पीडादायी बनेको छ, बांगे धरान सडकखण्ड । वर्षायाममा हिल्लाम्ये र हिउँदमा व्यक्ति नचिनिने गरि धुल्याम्मे । यदाकदा हिड्ने बटुवालाई त सम्झिदै बिरक्त लाग्छ भने स्थानीयले कसरी झेलिरहेका छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यस क्षेत्रबाट थुप्रै नेताहरुले जितेर गए, आफ्नो दुनो सोझ्याए । सांसद बने, मन्त्री भए तर बाटो उस्तै रह्यो ।यत्तिका वर्षमा कयौं जना हिलोमा लडे, सडकको खाल्डोमा लडेर कतिको अंगभंग समेत भयो । धुलोको कारण लाग्ने अन्य रोगको कुरा त कति हो कति १ कालोपत्रे सडक बिग्रेपछी स्तरउन्नतिको लागि बराहक्षेत्र नगरपालिकाले योजना अघि नसारेको पनि हैन्, तर उहीँ बालुवामा पानी खन्याए भन्दा बढी केही हुन सकेन ।

अबभने स्थानीयले राहत महसुस गर्न पाउने भएका छन् । नेपाल सरकारका सूचना, प्रबिधि तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सडक स्तरउन्नतिका लागि पहल गरिदिने बताएपछि स्थानीयलाई राहत हुने भएको हो । सुनसरी निर्वाचन प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का सांसद कार्कीले प्रदेश एकका भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीलाई सो सडक पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरे । आज सप्तकोसी बहुमुखी क्याम्पस बराहक्षेत्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले भने,-बांगे-धरान सडक पुनर्निर्माण गर्ने काम प्रदेश एकका भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीको पहलमा हुनेछ, उनले थपे, यदि प्रदेश सरकारले गरेन भने अर्कोपटक यो बाटोको लागि म आफै बजेट विनियोजन गर्नेछु ।

269782586_4994987140525371_3044514924615486325_n
आफ्नो क्षेत्रमा मात्र बिकास गर्ने नेताको रूपमा आरोप खेपिरहेका मन्त्री कार्कीले यसपटक भने क्षेत्र नम्बर एकमा पर्ने उक्त कच्ची सडकलाई कालोपत्रेको पहलमा प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै, प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री कार्कीले भने ज्ञानेन्द्र कार्की बिकासप्रेमी नेता भएको तर्क गरेका थिए । मन्त्री दाहालले संचारमन्त्री कार्कीको भनाइ मुताबिक नै बांगे-धरान सडकखण्डको पुनर्निर्माणमा आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
यता क्याम्पसको लागि स्थानीय सरकारले गर्ने सहयोगका लागि आफूहरू सदैब तत्पर रहेको बराहक्षेत्र नगरप्रमुख निलम खनालले प्रतिबद्धता जनाए । मन्त्री कार्कीसमक्ष बांगे धरानको बाटोको निम्ति सहयोगको अपेक्षा गर्ने समेत नगरप्रमुख खनाल नै थिए ।
क्याम्पस प्रमुख खगेन्द्र निरौलाले तत्कालीन प्रदेश एकका मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकारलाई ५१ वटा प्रपोजल लेख्दा पनि क्याम्पस सहयोगक निम्ति पार नलागेको गुनासो गरे । उनले त्यहाँ एक कृषि क्याम्पसको समेत आवश्यकता रहेको औल्याएका छन् ।
यसैबीच क्याम्पस रहेको सरकारी जग्गामा ५० बेडको अस्पताल स्थलगत निरीक्षण समेत गरिने बताए । अस्पतालको लागि एक बिघा १० कठ्ठा जग्गा आवश्यक पर्ने भएकाले जग्गा उपलब्ध हुनसाथ सम्झौता गरेर २ बर्षभित्र अस्पतालको भवनको काम सम्पन्न हुनेमा जोड दिए । उक्त अस्पताल १० वर्ष चलाएसी क्याम्पसलाई हस्तान्तरण गरिने बताइएको छ । सोहिअन्तर्गत क्याम्पसले बिएससीका कक्षाहरु संचालन गर्ने योजना रहेको क्याम्पस प्रमुख निरौलाको भनाइ छ ।
प्रत्येक पटक क्याम्पसको लागि केही न केही गर्दै आएका मन्त्री कार्कीले यसपटक भने ५ जना जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।
यस अघि सुनसरी क्षेत्र नम्बर १ बाट संघीय सांसद जीतेका जयकुमार राई, निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश संसाद भीमप्रसाद आर्चाय मुख्यमन्त्री हुँदासम्म सो सडकलाई वेवास्था गरेका थिए ।  यसैबीच आफ्नो निर्वाचन क्षेत्र नपर्ने भएपनि संघीय सांसद मीन विश्वकर्मा, वर्तमान परराष्ट्रमन्त्री डा.नारायण खड्काले समेत सडक पुनर्निर्माणको आश्वासन नदिएका भने हैनन् । आफ्नो बचनमा पक्का मानिने नेता कार्कीले दिएको यसपटकको आश्वासन भने अर्थपूर्ण रुपमा हेरिएको छ ।