इटहरीः इटहरी ४ हलगडा गोर्खा बेकरी अगाडीको इटहरी धरान सडक खण्डमा ट्रकको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट घाइते भएकी स्थानीय ६५ बर्षीया देवी खड्कालाई चालकले ब्याक(पछाडी) सारेर हत्या गरेको भन्दै स्थानीयले यतिबेला सडकमा टायर बालेर सडक जाम गरिरहेका छन् ।
पछाडी सारेर बृद्धाको ज्यान लिने चालकलाई जन्मकैदको फैसला नभएसम्म सडक नखोल्ने भन्दै सडक जाम गरेका हुन् । कुखुराका चल्ला र चारो बेकेर घर तर्फ आइरहेका बेला बिहान १० बजेर ५५ मिनेटमा प्रदेश १–०२ -००१ ख नम्बरको ट्रकले ठक्कर दिएको र उपचारका क्रममा मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ ।
सडक आन्दोलनमा उत्रिएका स्थानीय तथा इटहरी ४ स्थित गंगालाल टोल विकास संस्थाका अध्यक्ष रत्न कार्कीका अनुसार ट्रकले मृत्क बृद्धाले बोकेको चल्ला र चारोको झोलालाई ठक्कर दिएपछि सडक लडेकी थिइन् । बाँच्ने ठाँउ हुँदा हुँदै ट्रक चालकले पछाडी सारेर पेल्ने काम गरेको कार्कीले दावी गरे । सो ट्रकका चालकले यसअघि पनि यस्तै खालको कार्य गरेको आफूहरुलाई सूचना प्राप्त भएको उनले बताए । ट्रक चालकलाई जन्मकैदको फैसला गरि मृत्क परिवारलाई उचित क्षतिपुर्ती नदिएसम्म सडक जाम लगायतका आन्दोलन नरोकिने कार्कीले बताए ।