विराटनगरः नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
आगामी पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिवमा उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय सदस्य भएका श्रेष्ठ २० वर्षदेखी जनस्वास्थ्य क्षेत्रमा कार्यरत छन् । संस्थाको संगठनात्मक विकास, जनस्वास्थ्यकर्मीहरुवीचको सुव्यवस्थित सञ्चार, जनताको स्वास्थ्य जीवनयापनका लागि पैरवी गर्ने, जनस्वास्थ्यकर्मीवीचको रोजगारी सुनिश्चितताका लागि जनस्वास्थ्य संघको महासचिवमा उम्मेदवारी दिएको श्रेष्ठले बताए ।
बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा २० वर्षदेखिको अनुभव नै आफ्नो जित्ने आधार रहेको उनले बताए । उनले भने,‘यूवा जनस्वास्थ्यकर्मीसँग सहकार्य र अग्रजको सल्लाह सुझाव लिएर संगठनको विकासमा लाग्ने छु ।’
जस्तोसुकै विपत्तिमा पनि जनस्वास्थ्यकर्मीले गर्ने कामबाट आफु कहिल्यैपनि पछि नहटेको उनि बताउछन् । कोरोनाका पहिलो र दोश्रो लहरको समयमा तीव्र संक्रमण भएको अवस्थामा रेडियोबाट कोरोनाबाट बच्नका लागि निरन्तर सूचना दिने उद्देश्यले आफैले रेडियो कार्यक्रम दैनिक सञ्चालन गरेको, रेडियोको माध्यमबाट प्लाज्मा व्यवस्थापनको कार्य गरेको, अहिले पनि जनस्वास्थ्य गतिविधि नियमित सञ्चालन गरिरहेको श्रेष्ठले बताए । उनले भने,‘ १५ सय भन्दा बढी जनस्वास्थ्यकर्मीसँग कुराकानी गरि स्वास्थ्य सचेतना फैलाउने काम गरिएको छ ।’
सिएमएबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ स्वास्थ्य क्षेत्रबाटै विद्यावारिधि गर्दैछन् । उनि विगत १० वर्षदेखि जनस्वास्थ्य क्षेत्रमा अध्ययापनरत छन् ।
नेपाल जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ । मतदान ७ वटै प्रदेशका राजधानी र काठमाण्डौंमा गरिने व्यवस्था मिलाईएको छ ।