विराटनगरः धनकुटामा जन्मिएको सप्तकोसी डेभलपमेन्ट बैँकको जेनेरल सर्भिस डिपार्टमेन्ट विराटनगरमा कार्यरत एक जना कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पाएको बैंकको रेमिटेन्सतर्फको आर्थिक हिसावमा केहि अनियमितता देखिएपछि बैंकले प्रहरीमा दिएको निवेदन पछि अनुसन्धानको क्रममा जीएसडी शाखाका प्रमुख हिमाल भट्टराई प्रहरी नियन्त्रणमा पुगेका हुन् ।
गत मंसिर महिनामै बैंकको रेमिटेन्स शाखामा केहि रकम अपचलन भएकोले त्यसको स्पष्ट छानविन गर्नका लागि बैँकले मोरगँ प्रहरी र सिआईबी गुहारेको थियो । सोही अनुसन्धानको क्रममा जेनेरल सर्भिस डिपार्टमेन्टका प्रमुख भट्टराईलाई नियन्त्रणमा लिइएको सिआईबीको भनाई छ ।
कति रकमको अनियमितता देखिएको भन्ने कुरा बैँकले खुलाएको छैन् । त्यो रकम निक्षेपकर्ता र शेयर धनीको नभई बैंकको नाफाको रकम भएकाले लगानीकर्ता र निक्षेपकर्तालाई असर नपर्ने बैंकको भनाई छ । हिनामिना भएको रकमका सम्बनधमा नेपाल राष्ट्र बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकले पनि आन्तरिक रूपमा अनुसन्धान गरीरहेको बताएका छन् ।
अनुसन्धानको क्रममा पक्राउ गरिएका भनिएका भट्टराई ६ वर्षदेखि उक्त बैंकमा कार्यरत रहेको बताइएको छ । रेमिट्यान्स तर्फको जिम्मेवारी सम्हालिरहेका भट्टराई एक्लैको पहलमा मात्रै रकम हिनामिना हुन नसक्ने भन्दै अनुसन्धान प्रक्रियालाई तेस्रो कोणबाट पनि हेर्नुपर्ने विश्लेषण गरिएको छ ।
बैंकको रकम हिनामिना भएको देखिएपछि राष्ट्र बैंक विराटनगरले पनि बुधबार निरीक्षण गरेको बताइएको छ । धनकुटामा केन्द्रीय कार्यालय रहेको बैंकको प्रदेश १ मा ३६ वटा शाखा कार्यालय रहेका छन् । बैकको कर्पोरेट कार्यालय भने प्रदेश एकको राजधानी समेत रहेको विराटनगरमा छ । बैंकको चार अर्ब ३० करोड निक्षेप रहेको छ ।
‘अहिले बैंकमा भएको आर्थिक हिनामिना निक्षेपकर्ताले जम्मा गरेको रकम नभई रेमिटेन्स मार्फत बैंकमा आएको सम्पत्ती भएकाले निक्षेपकर्तालाई असर नगर्ने बताइएको छ । मंसिरको पहिलो साता हिसाब नमिलेपछि बैंकको सम्पती हिनामिना भएको खुलेको थियो ।