बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाले करार कर्मचारी छनौट गर्दा योग्य र सक्षम जनशक्तिलाई अस्वीकृत गरि आसेपासेलाई स्थान दिएको भन्दै छानबिनका लागि थप निबेदन पेश भएको छ ।
नगरपालिकाले आव्हान गरेको कर्मचारी दरखास्तको सूचनामा फर्म भरेर प्रयोगात्मक परीक्षा दिएको तर आफूहरूभन्दा असक्षम व्यक्तिहरु छनौट गरिएको ठहर गर्दै थप चार जनाले छानविनको माग गर्दै बिहिबार नगरपालिका कार्यालयमा निवेदन पेश गरेका हुन् । यो संगै नगरपालिकामा निवेदन दिनेको संख्या ५ पुगेको छ । बिहिबार सत्यतथ्य छानबिन गर्न माग गर्दै नगरपालिकामा निवेदन दिनेहरुमा बिकाश कटवाल, लक्ष्मी राजधामी, अम्बिका कुलुङ र सीता दाहाल रहेका छन ।
शेखर श्रेष्ठले भने हिजो अर्थात बुधबारनै निबेदन दिइसकेका छन् । योग्यता र क्षमता हुँदाहुँदै पनि राजनीतिक दल र सत्ताको आडमा आफूहरूलाई अस्वीकृत गरिएको उनीहरूको दाबी छ । प्रदेश पोर्टलसँगको कुराकानीमा निबेदक मध्येका एक बिकास कटवालले भनेका छन्,-कि पुनः परीक्षा हुनुपर्छ कि दर्खास्त शुल्क फिर्ता हुनुपर्छ । कटवालका अनुसार दुईदिन भित्र छानबिन गरेर नतिजा हेरफेर गर्न सकिने या नसकिने निक्र्योल गरिने नगरपालिका स्रोतले आश्वासन दिएको छ । सबैभन्दा राम्रो गरेको थिए, विभिन्न बहानाबाजी र पार्टीको आडमा मलाई अस्वीकृत गरियो, म जोसँग पनि प्रतिस्पर्धा गर्न तयार छु उनले भनेका छन् ।
नगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पत्रचारमा गत मंसिर १२ गते कर्मचारीको आह्वानको बिज्ञापन जारी गर्दै नगरपालिकाभित्र गरिब परिवार पहिचान तथा परिचय तथा वितरण कार्यक्रमका लागि २ जना सुपरिवेक्षक र १४ जना गणक पदका कर्मचारी आह्वान गरेको थियो ।
जारी मितिले १५ दिनभित्र ९५ ले दरखास्त पेश गरेको नगरपालिका कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार आवेदन परेका ९५ मध्ये ७ जनाको आवश्यक कागजात नपुगेर दरखास्त फाराम अस्वीकृत गरिएको थियो ।
यद्यपि दुई जनाको पुनः दरखास्त स्वीकृत गरेपछी दोस्रो चरणमा उनीहरूको अन्तरवार्ता तथा प्रयोगात्मक परीक्षा लिइएको नगरपालिका स्रोतको भनाइ छ । आवेदकबाट छनौट गरिने सो अन्तिम चरणअन्तर्गत कम्प्युटरसम्बन्धि प्रयोगात्मक परीक्षाबाट २ सुपरिवेक्षक र १४ गणक छनौट भएको नामावली प्रकाशन भएपछि नगरपालिकाले मनपरि कर्मचारी छनौट गरेको आरोपसहित चौतर्फी विरोध भइरहेको छ ।
आफूहरुको क्षमता हुँदाहुँदै पनि नगरपालिकाले आफ्ना आसेपासेलाई मात्र छनौट गरेको आवेदकहरुले आरोप लगाएका हुन् । सामाजिक संजालमार्फत निबेदकहरुले ुनगरपालिकामा नाताबाद र कृपाबाद हावी भयो, कम्प्युटर चलाउन नजानेकाहरु कसरी छनौट भए ?, परीक्षा पुनः गर्नुपर्छ भन्ने जस्ता आरोपहरु लगाइरहेका छन् । नगरपालिकाले गरेको कर्मचारी छनौट कार्यको प्रतिदिन जसो सामाजिक सञ्जालमा व्यापक आलोचना बढीरहेको छ ।