इटहरी । कार्तिक महिनामै बाँडफाँड भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर ढिलो गरी बिहिबार नेपाल स्टक एक्चेन्जमा सुचिकृत भएको छ ।
बिहिबार सुचिकृत भएको कम्पनीको सेयर आउँदो आइतबारबाटमात्रै दोस्रो बजारमा कारोबार आउने भएको छ । नेप्सेमा सुचिकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने भएता पनि दोस्रो दिन शुक्रबार परेपछि आइतबारमाट मात्रै कारोबार हुने भएको हो ।
नेप्सेमा यो कम्पनीको १०० अंकित दरका कुल ६ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको ६० लाख कित्ता, कर्मचारी सञ्चकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीको ६ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता र संस्थापकहरुको ३ करोड ६ लाख कित्ता रहेको छ। मध्यभोटेकोशिको कारोबार ‘एमबीजेसी’ कारोबार संकेतबाट कारोबार हुने नेप्सेले बताएको छ । नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई नेप्सेले न्यूनतम ९४.३९ रुपैयाँदेखि अधिकतममा २८३.१७ रुपैयाँ ओपनिङ रेन्ज तोेकेको छ । यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार आउनेछ ।