इटहरी :बैंक तथा वित्तीय संस्थाहरुले नयाँ स्थानमा एटीएम मेसिन सञ्चालन गरेको र शाखा रहित बैँकिङ्ग कारोबार सुरु गरेको रिपोर्ट हरेक ७ दिनभित्र नेपाल राष्ट्र बैंकलाई विवरण पठाउनुपर्ने भएको छ ।

बिहिबार बैँक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन २०७८ लाई संसोधन गर्दै केन्द्रिय बैँकले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिन रहेको स्थानको विवरण सञ्चालनमा आएको ७ दिनभित्र राष्ट्र बैंकमा पठाउनुपर्नेछ भने शाखा रहित बैँकिङ्ग सुरु गरेको विवरण पनि एक हप्ताभित्रै केन्द्रिय बँैकलाई जानकारी गराउनु पर्ने भएको छ ।
शाखारहित बैंकिङ केन्द्रमा रहेका ग्राहक तथा विद्युतीय कार्डको विवरण तथा ई–बैंकिङ कारोबारसम्बन्धी विवरण भने मासिक रुपमा अर्को महिनाको ७ गतेभित्र केन्द्रीय बैंकमा पठाउनुपर्नेछ ।

यसैगरी भुक्तानी सेवा प्रदायकले मासिक रुपमा अर्को महिनाको ७ गतेभित्र कारोबार विवरण, सफल र असफल कारोबार विवरण, सेटलमेन्ट बैंकमा रहेको खाताको हिसाब मिलान विवरण र ग्राहकसम्बन्धी विवरण राष्ट्र बैंकमा पठाउनुपर्नेछ।

त्यस्तै भुक्तानी प्रणाली सञ्चालकको कारोबारसम्बन्धी विवरण, सफल र असफल कारोबार विवरण, एजेन्टसम्बन्धी कारोबारको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबारसम्बन्धी विवरण र क्लियरिङ हाउसबाट भएका कारोबारका विवरण पनि मासिक रुपमा अर्को महिनाको ७ गतेभित्र राष्ट्र बैंकमा पठाउनुपर्नेछ।

अनुमतिप्राप्त संस्थाहरुले यस्ता विवरण रिपोर्टिङ पोर्टल÷सुपरभाइजर इन्फोर्मेसन सिस्टम (एसआईएस) मार्फत राष्ट्र बैंकमा पठाउनु पर्ने नेपाल राष्ट्र बैँकले बताएको छ ।