धरानः इटहरी, धरानहुँदै भोजपुरसम्म चल्ने सहयात्री बसमा बुधबार एक महिला सिटमै मृत भेटिएकी छन् । भोजपुरबाट धरानका लागि हिडेको सो बसमा भोजपुरको अरुण गाउँपालिका ५ घर भएकी करिब ३५ वर्षीया कमला भुजेल श्रेष्ठ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।उनि मृत भेटिएसंगै बसमा खैला बैला भएको थियो । 

प्रहरीका अनुसार बुधबार करिब साढे ३ बजे धनकुटाको पात्लेखोलानजिक सो बस आइपुग्दा उनि मृत भेटिएपछि बसका कर्मचारीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।
उनका अनुसार धरान आउँदै गरेको प्र १-०२-००१ ख ८१०७ नम्बरको सहयात्री नामक बसमा सवार उनि सिटमा घोप्टे परेको र अचेत अवस्थामा भेटिएकी थिइन् । बसका कर्मचारीले थाहा पाएपछि उनलाई जिल्ला अस्पताल धनकुटा लगिएको थियो । त्यहाँ पुगेपछि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
उनी भोजपुरबाट तीन वर्षीया छोरीसँगै बसमा चढेको बसका कर्मचारीहरु बताउँछन् । उनी भोजपुर घर भएपनि श्रीमानसहित धरानमा बस्दै आएको प्रहरीले जनाएको छ ।

डिएसपी कार्कीका अनुसार उनी माइतीगाउँबाट धरान फर्किदै थिइन् । प्रहरीले उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाएको छ । घटनाका बिषय आवश्यक अनुसन्धान अगाडी बढाएको र के कति कारणले उनको मृत्यु भयो भन्ने बिषयमा यकिन भइनसकेको कार्कीले बताए ।तस्वीरः हाम्रो कोशी आवजबाट