विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु दुःखत भएको बताएका छन् । बर्षेनी यो संख्या बढ्दै जानु चिन्ताको विषय भएको उनले बताए ।
सामाजिक विकास मन्त्रालयका आयोजनामा अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका संवन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस्थलहरुका संयोजकहरुवीच मंगलबार देखि विराटनगरमा शुरु भएको समीक्षा तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले महिला हिंसाले महिला र पुरुष दुवैलाई इङ्गित गर्ने बताए । मन्त्री यादवले महिला हिंसाका घटना न्युनीकरणका लागि गाउँ–गाउँमा सचेतना आवस्यक रहेकोमा जोड दिए ।
सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा प्रदेश १ का १५ स्थानीय तहमा सञ्चालित अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवाका प्रभावकारीताका आधारमा अन्य स्थानीय तहहरुमा पनि कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले सामाजिक विकास मन्त्रालयले घरेलु तथा लैंगिक हिंसाबाट पीडित भई भय तथा असुरक्षा महसुस गरि आफ्नो घरपरिवार तथा समाजमा रहि जीवन यापन गर्न नसकीरहेका महिला तथा बालबालिकाहरुलाई लक्षित गरि दीर्घकालिन पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याईको बताए । उनले दुई वर्ष अघि देखि गृह सञ्चालनमा रहेको बताए । उनले अहिले गृहमा १२ जना महिला तथा बालिकाहरु रहेको बताए । उनले पुर्नस्थापना गृहबाट पुर्नमिलन तथा पुर्नस्थापना, बालिकाको संस्थागत स्याहार, बालिकाहरु शिक्षा लगायतका चुनौति रहेको बताए ।
कार्यक्रममा प्रदेश १ उपसभामुख सरस्वती पोखरेल, प्रदेश सांसदहरु, सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, स्थानीय तहका उपप्रमुखहरु, संरक्षण गृहका संयोजक लगायतको सहभागिता रहेको थियो ।