इटहरीः वाणिज्य बैँकहरुमा कमजोर प्रदर्शन गरेको सेन्चुरी कमर्सियल बैंकले पनि लाभांश घोषणा गरेको छ ।
सेन्चुरी कमर्सियर बैँकको शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना सेयरधनीहरुको लागि ५.७५% बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैँकले शेयरधनीलाई दिएको बोनस सेयरमा कर तिर्ने झण्झट नपरोस भनेर कर प्रयोजनको लागि ०.३०% नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ ।
बैकले यसपटक सेयरधनीका लागि ५१ करोड ९४ लाख ७९ हजार ७९६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर तिर्ने प्रयोजनका लागि २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ नगद बाँड्नेछ ।
सन्चालक समितिको बैठकले गरेको यो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । गत वर्ष बैंकले ५.२५% बोनस र २.२५% नगद लाभांश वितरण गरेको थियो ।