इटहरीः देशभर चिसो बढ्ने क्रममा आज जुम्ला र जिरीको तापक्रम माइनसमा झरेको छ । देशमा सबैभन्दा कम तापक्रम जुम्लामा रहेको छ । त्यहाँ न्यूनतम तापक्रम माइनस ५.८ डिग्री सेल्सियस रहेको छ । जिरीमा पनि माइनस २.१ डिग्री सेल्सियस तापक्रम रहेको छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

शनिबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।देशको पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार भने देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस पुगेको छ ।