इटहरीः नेकपा (एमाले)ले पथरी शनिश्चरे नगरपालिका वडा नं १० निवासी युवा नेता युवराज बास्कोटालाई मोरङको सहइञ्चार्ज तोकेको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन भएलगत्तै सम्पन्न दोस्रो बैठकबाट केन्द्रीय कमिटी सदस्यमा मनोनयन भएका बास्कोटा राजनीतिक जिम्मेवारी लिएर प्रवास बसेदेखि नै एमाले अध्यक्ष ओलीनिकट हार्डलाइनर नेताका रूपमा चिनिन्छन् ।
सर्वाधिक बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको मोरङमा स्थापित नेता विनोद ढकाल इञ्चार्जका रूपमा तोकिएसँगै नेता ढकालको मुख्य सहयोगीका रूपमा बास्कोटालाई अघि सारिनुले यसलाई निकै अर्थपूर्ण ढंगले हेरिएको चर्चा सर्वत्र हुने गरेको छ ।
ग्रामीण परिवेशबाट उठेका युवा व्यक्तित्व बास्कोटा पार्टीको राजनीतिक–बैचारिक कार्यदिशा र यसको मार्गसिद्धान्त जनताको बहुदलीय जनवादका राम्रो व्याख्याकार अगुवा राजनीतिक विद्यार्थीका रूपमा समेत परिचिति छन् ।
महाधिवेशन प्रतिनिधि हुननदिन गरिएको प्रलय प्रयत्नलाई समेत चिर्दैै अघि बढेका बास्कोटा पार्टीको केन्द्रीय कमिटी सदस्य भएसँगै शुभचिन्तकहरूले सामाजिक सञ्जालमा– ढु्ङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल भन्दै बास्कोटालाई बधाई शुभकामना दिइरहेका छन् ।