उर्लाबारीः झापाको दमक–६ को ब्यस्त बजारमा मंसिर २९ गते राति ७ बजेर १५ मिनेट जाँदा एक युवाको हत्या भयो । दमक–६ को नमूना मार्गस्थित घिमिरे मार्केटमा रहेको रक्षा फेन्सी पसलमा कार्यरत रहेका दमक–२ का २५ बर्षीय प्रकाश भनिने तेजप्रकाश पराजुलीको हत्या भएको हो । पसलदेखि भित्र पट्टी रहेको धारामा पानी थाप्न गएका पराजुलीलाई आँखा र घाँटीमा धारिलो हतियार प्रहार गरी गम्भिर घाइते अवस्थामा पसलका सञ्चालक सन्तोष पौडेलले भेटे । बोतलमा पानी भरेर पसलतर्फ फर्किने क्रममा पराजुलीको घाँटी, अनुहार र आँखामा धारिलो हतियारले काटी रक्ताम्मे अवस्थामा सञ्चालक पौडेलले फेला पारेका थिए । पराजुलीलाई पानी भर्न पठाएर पौडेल पनि शौचालय गएका थिए ।
पौडेल शौच गरेर फर्किने क्रममा पराजुलीको आँखा बाहिर निस्केको अवस्थामा देखें । त्यसपछि अतालिएका पौडेलले आफ्नो हातले आँखा थामे । त्यसपछि पो थाहा पाए घाँटी पनि काटेको । घाँटीको रुद्रघण्टी काटिएको थियो पराजुलीले केही भन्न खोजेपनि राम्रोसँग बुझ्ने अवस्था थिएन । आफुमाथी प्रहार गर्ने ब्यक्तिको बारेमा केही संकेत पसलका सञ्चालक पौडेललाई दिएका थिए । गम्भिर अवस्थामा भेटिएका पराजुलीलाई तत्काल उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल लगियो । त्यहाँ उपचार सम्भव नभएपछि झापाकै विर्तामोडमा रहेको विएण्डसी अस्पतालमा उपचारको क्रममा पराजुलीको मृत्यु भयो ।
१२ घण्टामा हत्याका अभियुक्त लिम्बू प्रहरी फन्दामा
पराजुलीको हत्या गरेको अभियोगमा दमक–१ का २० बर्षीय अर्जुन लिम्बुलाई पक्राउ गरेको छ । पक्राउ परेका लिम्बूलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पराजुलीको हत्या गरेको १२ घण्टापछि बिहीबार विहान इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले अभियुक्त लिम्बुलाई पक्राउ गरेको थियो । हत्याको अभियोगमा पक्राउ परेका लिम्बूलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
३ महिनाअघिको रिसिबीले हत्या
तीन महिनाअघिको रिसिबीका कारण दमक–१ का लिम्बुले गत बुधबार धारिलो हतियार प्रहार गरी पराजुलीको हत्या गरेको खुलेको छ । युवतीको विषयमा पराजुली र लिम्बुबीच तीन महिनाअघि झगडा भएको थियो । त्यसबेला सामान्य विवादका क्रममा पराजुलीले लिम्बुलाई कुटपिट गरेको र सोही रिसिबीका कारण उनको हत्या गरिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
के के भेटिए ?
प्रहरीले घटनामा प्रयोग गरिएका हतियार, झोला, कालो रङको जुत्ता र अन्य कपडाहरु बरामद गरेको छ । अभियुक्त लिम्बुविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा चलाइएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।