इटहरीः नेकपा माओवादी केन्द्रले प्रदेश–१ को पदाधिकारी टुङ्गो लगाउन नसकेपछि कार्यदल गठन गरी टुङ्गोमा पुग्ने भएको छ । प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि कार्यदल गठन गरेको हो ।
सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले प्रदेश अध्यक्षमा दाबेदारी गरेका थिए । तीन जना दाबेदारका कारण मङ्सिर २५ र २६ गतेको प्रदेश अधिवेशनले पदाधिकारीको नाम टुङ्गो लगाउन सकेको थिएन ।
तीन जना दाबेदार ‘ब्याक’ भएपछि पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडी अध्यक्षको दाबेदार देखिएका छन् ।
दाबेदार धेरै देखिएपछि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन भएको हो ।
दाबेदार धेरै देखिएपछि प्रदेशका सहइन्चार्ज सावित्रीकुमार काफ्लेले कार्यदल गठनको प्रस्ताव गरेका थिए । कार्यदलले पदाधिकारीको टुङ्गो लगाउनेछ ।
प्रदेश समितिको पहिलो बैठक माओवादी नेता टङ्क गिरी (महेश)को अध्यक्षतामा सम्पन्न भएको थियो ।