इटहरीः चालु आर्थिक वर्षको चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर रोजगारीमा जाने युवाको संख्या ह्वात्तै बढेको छ ।
साउनदेखि कार्तिक महिना सम्मको तथ्याङ्कअनुसार अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९६ हजार ३ सय ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसरी वैधानिक श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ९५ दशमलव ७ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको चार महिनामा पुनः श्रम स्वीकृति लिएर पुनः सोही रोजगारदाताकोमा फर्किने नेपालीको संख्या भने ५९ हजार ७ सय २३ पुगेको छ । सो संख्या अघिल्लो वर्षको पहिलो चार महिनाको तुलनामा २४९ प्रतिशतले धेरै हो ।
अघिल्लो वर्ष पुनः सोही रोजगारदाताकोमा फर्किने नेपालीको संख्या ७८ दशमलव ९ प्रतिशतले घटेको थियो । यसैगरी वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स अर्थात् विप्रेषणमा पनि गिरावट आएको छ । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाहमा ७ दशमलव ५ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । साउनदेखि कार्तिक महिनासम्म विदेशमा भएका नेपालीले ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स मुलुकमा पठाएका छन् ।
अघिल्लो वर्षको पहिलो चार महिनामा यो दर ११ दशमलव २ प्रतिशतले बढेको थियो । यसैगरी अमेरिकी डलरमा आउने विप्रेषणको दर पनि ७ दशमलव ८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ४ महिनामा अमेरिकी डलरमा आउने रेमिट्यान्स २ अर्ब ६३ करोड रुपैयाँ मात्र छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रेमिट्यान्स ६ दशमलव ४ प्रतिशतले बढेको थियो ।