इटहरीः सरकारको चालु खाता आर्थिक बर्षको चार महिनाको हिसाबले हेर्दा २ खर्ब २३ अर्बले घाटामा रहेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनाको समीक्षा गर्दा १९ अर्ब १ करोड रुपैयाँले नाफामा रहेको सरकारी चालु खाता चालु आर्थिक वर्षको ४ महिनाको हिसाब गर्दा घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा सरकारको चालु खाता १५ करोड ८६ लाख अमेरिकी डलरले बचतमा थियो । सोही खाता अहिले १ अर्ब ८८ करोडले घाटामा गएको देखिएको छ । पछिल्ला चार महिनाको देशको आर्थिक सूचकाङ्क सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्र घाटामा गइरहेको चित्रण गरेको हो । समीक्षा अवधि अर्थात् चालु आर्थिक वर्षको चार महिनामा पूँजीगत ट्रान्सफरमा पनि ३९ दशमलव ३ प्रतिशतले गिरावट आएको छ । सो अवधिको पूँजीगत ट्रान्सफर २ अर्ब ५३ करोड कायम छ भने वैदेशिक लगानीमा भने वृद्धि भएको देखिएको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा वैदेशिक लगानी ६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । सो लगानी अघिल्लो वर्षको पहिलो चार महिनाको तुलनामा ७७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब १५ करोड रुपैयाँ थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड रुपैयाँ थियो । समीक्षा अवधि अर्थात् चालु आर्थिक वर्षको पहिलो ४ महिनामा देशको शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको देखिएको छ । अघिल्लो वर्षको सोहि अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको सोधनान्तर स्थिति अहिलेको समीक्षा अवधिमा १ अर्ब २६ करोड डलरले घाटामा रहेको छ ।