इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा श्रृंखलाबद्ध चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरी–१ का १९ वर्षीय निमा तामाङ र १९ वर्षीय सन्तोष सुब्बा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उनीहरु विभिन्न मिति र समयमा मोबाइल चोरी, सवारीसाधन चोरी, पसल फोडी नगद र सामान चोरी, गरगहना चोरी लगायतका आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए । उनीहरुको साथबाट मोबाइल–३ थान, ट्याबलेट–१ थान, चाँदीको सिक्री–१ थान, गाडीको चावी–१ थानसमेत बरामद गरिएको एसपी राईको भनाइ छ ।

chori ka saman.

यसअघि निमा तामाङलाई पथरी शनिश्चरेबाट डाँका मुद्दामा जिल्ला अदालतको मिति २०७७ साउन १३ गतेको आदेशानुसार बाल सुधार केन्द्रसमेत पठाइएको थियो । पक्राउ परेका अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।