इटहरीः सुनसरीको इटहरी उप–महनगरपालिका–४ मा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी–४ का ५१ वर्षीय मुरारी गिरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहन्न ४ः३० बजे गिरीकै घरमा बस्दै आएका सालो १९ वर्षीय अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए ।
घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा साँझ ७ः०० बजे मृत्यु भएको थियो । छुरा प्रहार गर्ने राईलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।