इटहरीः मोरङको विराटनगरस्थित मुख्य बजारमा रहेको एक टेलर्सको चेन्जिङ रुम (लुगा फेर्न बनाइएको कोठा)मा सिसी क्यामेरा जडान गरेको आरोपमा प्रहरीले टेलर्सका सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महावीर रोडमा रहेको जेन्टलमेन टेलर्सका सञ्चालक सद्दाम मियाँ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार महिलाले प्रयोग गर्ने चेन्जिङ रुममा सिसी क्यामेरा जडान गरेको उजुरी परेपछि प्रहरीले सञ्चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

कपडा सिलाउन आएका सेवाग्राहीले कपडाको साइज मिले नमिलेको जाँच्न प्रयोग गर्ने चेन्जिङ रुममा सिसी क्यामेरा जडान गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । सिसी क्यामेराबाट कपडा परिवर्तनको भिडियो खिचेर ‘बार्गेनिङ’ गरेको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।