इटहरीः इलामको सूर्योदय नगरपालिका–६ हर्कटेमा भएको भ्यान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने भेन चालकसहित आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा इलामको माईजोगमाई गाउँपालिका–४ का ७६ वर्षीय वृद्ध रामप्रसाद तिमल्सिना र ४० वर्षीय भरतप्रसाद घिमिरे रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार हर्कटेबाट इलामको फिक्कलतर्फ जाँदै गरेको मे १ ज ३३०७ नम्बरको भेन मङ्गलबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मङ्गलबार साँझ मृत्यु भएको डीएसपी तिम्सिनाको भनाइ छ ।
भ्यान सडकबाट करिब एक सय मिटर तल खस्दा ४० वर्षीया पवित्रा तिमल्सिना, ३१ वर्षीया यशोधा घिमिरे, ३१ वर्षीया निर्मला तिमल्सिना, ३५ वर्षीय पदम तिमल्सिना, पदमका छोरा ४ वर्षीय प्रकृत तिमल्सिना, मृतक भरतका छोरा ९ वर्षीय भर्सन घिमिरे र उनकै छोरी २ वर्षीय प्रया घिमिरे भई उपचारार्थ झापा पठाइएको डीएसपी तिम्सिनाले उल्लेख गरे । दुर्घटनाबाट सामान्य घाइते भएका भ्यानका चालक माईजोगमाई–४ का ३६ वर्षीय भीम खवासलाई सामान्य उपचारपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट चालकले लाइसेन्स नबोकी तिव्र गतिमा सवारी चलाएको पाइएको बताउँदै प्रहरीले विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।