इटहरीः १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको ५६ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित आन्तरिक रुपमा सम्पन्न भएको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायबमहानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यमा प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक विशेष कार्यक्रमका बीच ५६ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायबमहानिरीक्षक बि.सी.ले व्यवासायिक प्रहरी उत्पादनको उद्गमस्थल प्रहरी तालिम केन्द्रले ५६ औँ वर्ष पूरा गरेको अवसरमा केन्द्रका सम्पूर्ण परिवारलाई शुभकामना दिएका छन् । कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भूमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्दतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरेपश्चात् मात्र प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षाअनुरुप प्रतिफल दिन सक्ने बताए ।
समयको परिवर्तनसँगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरुभन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको जरो तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई उनले निर्देशनसमेत दिए । उनले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भविष्यमा प्रहरीहरुको कार्यसम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबै जना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्नेगरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशनसमेत दिए ।
यसैगरी, प्रहरी नायबमहानिरीक्षक बि.सी.ले वार्षिकोत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटबल, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन खेलका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गरेका थिए । यसैगरी, तालिम केन्द्रमा वर्षभरिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गरेका थिए । कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक खगेन्द्र धमालाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रले समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने व्यावसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरुसमेत गरी कुल ७८,४१२ (अठहतर हजार चार सय बाह्र) जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी दिए ।
कार्यक्रममा केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले उपस्थित सबैमा धन्यवाद दिँदै नयाँ चुनौतिसँग सामना गर्न सक्षरम, व्यावसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र विकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, व्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताएकी थिइन् । वार्षिकोत्सव कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष चारु कोइराला बि.सी. तथा पदाधीकारीहरु, र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।