इटहरीः मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा हिजो दिउँसो २ः३० बजे विराटनगर महानगरपालिका–१६ हुलास चौकमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप–महानगरपालिका–४ का २२ वर्षीय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल बरामद भएपछि उनलाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी, हिजो साँझ ६ः०० बजे विराटनगर महानगरपालिका–१७ मटेरुवाचोकमा सुनसरीको धरान उप–महानगरपालिका–१४ का ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।
त्यसैगरी, हिजो साँझ ५ः०० बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सुन्दरहरँैचा नगरपालिका–५ बलियाबाट मोटरसाइकलमा सवार रहेका केराबारी गाँउपालिका–६ का २१ वर्षीय सागर तमाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल बराम द भएपछि उनलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका अभियुक्तहरुउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।