इटहरीः नेकपा (एकीकृत समाजवादी) का संघीय अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार र सेटिङले सबै देशको सबै क्षेत्रलाई बिगारेको बताएका छन् ।
भौतिक पूर्वाधार निर्माण गर्दा अदूरदर्शी तवरले थोरै समयका लागि मात्र सोचेर संरचना बनाउँदा प्रतिफल दीगो हुन नसकेको भन्दै उनले यसका लागि सानो डिजाइन बनाउनेदेखि लिएर त्यसलाई स्वीकृत गर्नेहरु सबै जिम्मेवार रहेको बताएका हुन् । अन्य देशमा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलसम्म जान आठ दश ओटा आकाशे पुल बनाइएको बताउँदै उनले नेपालमा भने अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा पनि आकाशे पुल नभएकोमा आश्चर्य व्यक्त गरे । फिलिपिन्समा २५ वर्षपछि शहर बनाउन जङ्गल बचाएर राखिएको आफूले देखेको बताउँदै उनले नेपालमा भने शववाहन छिर्ने बाटो पनि नभएको उल्लेख गरी कटाक्ष गरे । चीनमा एक तले दुई तले भवन छुट्टाछुट्टै रहेको, मनोरञ्जन, श्क्षिाजस्ता कामका लागि छुट्टै ठाउँ रहेको उनको भनाइ थियो ।
इटहरी उपमहानगरपालिका १७ स्थित लविपुरमा इटहरी उपमहानगरपालिका र नेपाल नेत्रज्योति संघको सहकार्यमा निर्माण हुन लागेको आँखा अस्पतालको शिल्यान्यास कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विलासितामा पैसा खर्च भइरहेको भन्दै पूँजी निर्माणमा जोड दिन आग्रह गरे । आँखा अस्पताल निर्माणमा सहकार्य गरेर इटहरी उपमहानगरपालिकाले पवित्र कार्य गरेको उनको कथन थियो । इटहरी सबै हिसाबले केन्द्रविन्दु (सेन्टर) रहेको भन्दै उनले यसको विकासका लागि छिमेकी स्थानीय तहसँग पनि सहकार्य गर्दा राम्रो प्रतिफल पाइने बताए । नेपाल नेत्रज्योति संघसँग दक्ष चिकित्सकहरु आबद्ध रहेको भन्दै उनले यहाँ बन्ने अस्पतालमा प्रभावकारी उपचार हुने विश्वास व्यक्त गरे ।
२०३७ सालको घटना सम्झँदै नेता नेपालले आफूहरु एउटा छलफलमा साथीहरुसँग बसिरहँदा सबैले एउटा कागज पढ्ने कुरा भएको र सोही क्रममा कागज पढ्दै जाँदा आफ्नो एउटा आँखाको नजिकको दृष्टि कमजोर रहेको पत्ता लागेपछि त्रिपुरेश्वर अस्पतालमा उपचार गराई चिकित्सकको सल्लाहमा चस्मा लगाउन थालेको पनि सुनाए । सोही कार्यक्रममा पुगेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले अस्पताल निर्माण गर्न आफूहरु तयार रहेको र जग्गा उपमहानगरपालिकाले दिनुपर्ने नेत्रज्योति संघको प्रस्तावअनुसार आफूहरुले जग्गा उपलब्ध गराएको बताए ।
जग्गाको खोजी गर्ने क्रममा १० कट्ठा जग्गा दान गर्न एक दृष्टिविहीन जग्गादाता तयार भएपछि सोही जग्गामा अस्पताल निर्माण सुरु गरिएको उनको भनाइ छ । अस्पताल सञ्चालनका लागि १० कट्ठा जग्गा पर्याप्त भने नभएको बताउँदै उनले थप जग्गाको व्यवस्थाका लागि स्थानीयहरुसँग सहमतिको प्रयास भइरहेको जानकारी दिए ।