इटहरीः मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित कर्सियास्थित सिटिजन्स बैंक लुटपाटमा संलग्न अभियुक्तहरु जेल चलान भएका छन् ।

जेल चलान हुनेहरुमा विराटनगर ८ का श्याम मुखिया, भारतको अररिया जिल्लाको थाना बरगाना पञ्चायत शेखपुराका सुनिल यादव, सोही ठाउँका विजय बहरदार र रोशन कुमार यादव रहेको मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्र वीरजङ्ग राणाले जानकारी दिए । उनका अनुसार चारै जना अभियुक्तहरुलाई अदालतले पुर्पक्षका लागि हिजो थुनामा पठाएको हो । अदालतको आदेशपछि सबै अभियुक्तहरुलाई मोरङ जिल्ला कारागार चलान गरिएको उनको भनाइ छ ।

अभियुक्तहरुउपर बैंकबाट असोज २५ गते २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गरेको आरोप छ । मोरङ अदालतका न्यायाधीश सुदर्शन लम्सालको एकल इजलासले गरेको आदेशबाट उनीहरु कारागार चलान भएका हुन् । अभियुक्त मुखिया घटनाका प्रमुख योजनाकार रहेको प्रहरी अनुसन्धानले देखाएको छ । घटनामा संलग्न ११ जना भए पनि बैंक लुटपाटमा आठ जना आएर लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेराले बैंकदेखि लुटेर लगेको रकम भने फेला परेको छैन ।