इटहरीः महिलामाथि दुव्र्यवहार गरेको अभियोग लागेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई प्रहरीले सुनसरीको सरकारी वकिलसमक्ष हाजिर गराएको छ ।

 सेवाग्राही महिलालाई दुव्र्यवहार गरेको आरोप लागेका मेयर चौधरीलाई कारबाही गरिपाउँ भनी पीडितले दिएको निवेदनअनुसार इलाका प्रहरी कार्यलय इटहरीले सरकारी वकिलसमक्ष हाजिर गराएको हो । मेयर चौधरीमाथि गत भदौ महिनाको ३० गते कार्यालय समयमै सेवा लिन पुगेका इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का दुई महिलालाई गालीगलौज गर्दै दुव्र्यवहार गरेको र कार्यालयबाट निकालेको आरोप लागेको थियो । महिलाहरुलाई मेयर चौधरीले यी आईमाईलाई यहाँ कसले आउन दियो यी सुनको सिक्री लगाउँदै माग्दै हिड्ने आइमाई भन्दै कार्यालयमै गालीगलौज गरेको पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । अभिभावकीय जिम्मेवारी लिनुपर्ने व्यक्तिले नै सार्वजनिक ठाउँमा अराजक र अभद्र व्यवहार गर्नु गम्भीर मामिला भएको भन्दै पीडितहरुले मेयर चौधरीलाई पक्राउ गरी महिलालाई अभद्र व्यवहार गरेको कसुरमा हदैसम्मको सजाय माग गरेका थिए ।

 चौधरीविरुद्ध उजुरी दिनै दुवै महिलाहरु महत्वपूर्ण कागजातमा मेयरबाट तोक लगाउन मेयरको कार्यकक्षमा पुगेको बताइएको छ । पीडित महिलाहरुले महिला आयोगमा समेत महिला भएकै कारण सार्वजनिक निकायमा महिलामाथि दुव्र्यवहार गर्नेउपर कारबाही गरिपाउँ भनी जाहेरी दिएका थिए । बुँदागत रुपमा दिइएको उजुरीमा इटहरीका मेयर चौधरीले यसअघि पनि सार्वजनिक कार्यक्रममा ‘रण्डी जिन्दावाद’ जस्ता अश्लिल शब्दको प्रयोग गर्नुका साथै महिलालाई वेश्याको रुपमा चित्रण गरी महिला खेलौना हुन् भनि नेपालका न्यायाधीश र उच्च प्रहरी अधिकारीले महिलासँग संम्बन्ध राखेको देखेकोजस्ता अभिव्यक्ति दिएर समग्र महिलाकै इज्जत र प्रतिष्ठाउपर आँच पुर्याएको खुलाइएको थियो ।

 पीडितसहित महिला सञ्जाल इटहरी, महिला सहयोगी समुह इटहरी, महिला आधारशीला सुनसरी, प्रोत्साहन नेपाल, यौनिक अल्पसंख्यक महासंघ नेपाल, नारी चेतना समाज नेपाल, महिलाका निम्ति महिला मञ्च इटहरी, साथी फाउण्डेसन, मानव अधिकार रक्षक सञ्जाल र श्रमिक महिला मञ्चले असोज ७ गते नै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका थिए । असोज ८ गते निवेदन दिएको भएता पनि प्रहरीले पक्राउ नगरेको भन्दै महिला अधिकारकर्मीहरुले इलाका प्रहरीलाई समेत घच्घच्याएका थिए । सरकारी वकिलसमक्ष दिएको बयानमा मेयर चौधरीले तारेख धाउन नसक्ने बताउँदै आफू प्रेसरको बिरामी भएको र नियमित कार्यालयसमेत जानुपर्ने भएको बताएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । सुनसरीका महिला अधिकारकर्मीले मुद्दाको बारेमा चासो दिएकै समयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले समेत इलाका प्रहरी कार्यालय इटहरीलाई घच्घच्याएपछि चौधरीको मुद्दा अदालतमा पुगेको हो । दुव्र्यवहार गरेको भनिएका चौधरीले सरकारी वकिलसमक्ष बयान दिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले त्यसको फैसला गर्ने बताइएको छ ।