बराहक्षेत्रः भरौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पुस्प बस्नेतले माघ महिनाभित्र समितिको आय–व्यय सार्वजनिक गर्ने बताएका छन् ।
स्थापनाकालदेखि नै आजसम्म साधारणसभा नगरेको यस समितिले माघभित्र साधारणसभा गरी समिति विघटन गर्ने अध्यक्ष बस्नेतले जनाए । सोमबार प्रदेश पोर्टलसँगको कुराकानीमा उनले भने, ‘साधारणसभा गर्न सकिएन भने म आफैँ राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन्छु ।’ १२ वर्षदेखि एउटै समितिले काम गरिरहेको, हिसाबकिताब सार्वजनिक नगरेको भन्दै सम्बन्धित वडाका राजनीतिक दलत्रय नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चर्को आलोचना गर्दै आएका छन् । जसको जवाफमा अध्यक्ष बस्नेत भन्छन्, ‘उपभोक्ताबाट कुनै गुनासो र आलोचना छैन् किनकी हामीले खानेपानी वितरणमा कञ्जुस्याइँ गरेका छैनौँ ।’
आय–व्यय सार्वजनिक गर्ने ढिलासुस्तिबारे उनले थपे, ‘अर्को ट्याङ्की (बोरिङ) को लागि जग्गा उपलब्ध गराउने प्रक्रियामा छाँै, त्यसैले ढिलो भएको हो ।’ खानेपानीमा अनुमानित १८ करोड ९० लाख बराबरको लागत लागेको थियोे भने उपभोक्ताबाट धरौटीस्वरुप लगभग ५० लाख सङ्कलन गरिएको समिति स्रोतले जनाएको छ । स्रोतका अनुसार धरौटीस्वरुप सङ्कलित रकम इटहरीको वाणिज्य बैंक र कृषि विकास बैंकको मुद्दति खातामा राखिएको छ । अहिले यस सँस्थानबाट बराहक्षेत्र ३,४ र ५ वडाका २ हजार ४ सयभन्दा बढी घरधुरीहरु प्रत्यक्ष लाभान्वित बनिरहेका छन् । ७ सदस्यीय समितिका अध्यक्ष बस्नेत, उपाध्यक्ष तथा सचिव जगतबहादुर कार्की र कोषाध्यक्षमा लक्ष्मण चौधरी रहेका छन् । त्यस्तै, सदस्यहरुमा सुरेन्द्र शाक्य, पूजा धामी, नर्वदा पौडेल, इन्द्र राई र पदम श्रेष्ठ छन् ।