इटहरीः तास खेल्दै गरेको अवस्थामा दुई जना महिलासहित छ जनालाई प्रहरीले झापाको दमकबाट आइतबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–५ का ३९ वर्षीय सुमनसिंह राई, पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ का ४२ वर्षीय बबिन सुब्बा, दमक–५ का ५८ वर्षीय लक्ष्मी ढकाल, झापाको कमल गाउँपालिका–३ का ५१ वर्षीय राजकुमार खड्का र दमक–५ की ३४ वर्षीया कमला राई तथा ४० वर्षीया बिमला तामाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उनीहरुलाई दमक नगरपालिका–५ का दीपेश भट्टराईको खाली घरको कोठामा तास खेल्दै गर्दा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट तीन बुङ तास र ४० हजार रूपैयाँ नगद बरामद भएको एसपी राईको भनाइ छ । अभियुक्तहरुउपर जुवा ऐनअन्तर्गत कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।