इनरुवाः सुनसरीको गढी गाउपालिका ६ स्थित सत्तेरझोरामा रहेका नेकपा एमालेका नेता कार्यकर्ताहरु ओली प्रवृति विरुद्धमा विद्रोह गर्दै नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।
नेकपा एस सुनसरीले संगठन निमार्ण अभियानअन्र्तगत वडादेखि नगर तहसम्मका कमिटीहरु गठन तथा पुर्नगठन गर्ने क्रमसँगै सुनसरीको दक्षिणी क्षेत्रमा रहेका सत्तेरझोराका एमाले नेता कार्यकर्ता नेकपा एसमा समाहित भएका हुन् । नेकपा एस सुनसरीका उपाध्यक्ष रामचन्द्रं मटियैतका अनुसार गढी गाउँपालिकामा रहेका एमालेका सम्पूर्ण नेता कार्यकर्ताहरु नेकपा एसमा समाहित भएपछि साविककै कमिटीलाई वडा संगठन कमिटीमा रुपान्तरण गरिएको छ ।
उपाध्यक्ष मटियैतले विगतमा एमालेका विभिन्न कमिटीमा रहेका सुनसरीको दक्षिणवर्ती क्षेत्रका कार्यकर्ताहरु नेकपा एसमा समाहित हुँदै संगठनको विभिन्न जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा खटिन थालेको जानकारी दिए । गढी ६ नं वडा कमिटी सत्तरझोराको अध्यक्षमा डोमी उराँव, उपाध्यक्षमा अनितादेवी यादव, रेखा उराँव, सचिवमा महेन्द्र साहु, उप–सचिवमा विजयकुमार साह चयन भएका छन् । नेकपा एसका पोलिटव्यूरो सदस्य तथा सुनसरी इन्चार्ज महफुज आलम अन्सारीले नवगठित कमिटीका अध्यक्ष डोमी उराँवसहित ५१ सदस्य वडा कमिटीका पदाधिकारी सदस्यहरुलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए ।
भेलामा बोल्दै आलमले माक्र्सवादी दर्शन र लेलिनवादी संगठनलाई केपी ओलीले दक्षिणपन्थी भासमा लगेर जिम्मा लगाएकाले वामपन्थी आन्दोलन जोगाउन एमालेबाट सबै जनाले ओली प्रवृत्तिका विरुद्ध विद्रोह गर्ने बताए । भेलामा उपाध्यक्ष रामचन्द्र मटियैत, नेकपा एसका सुनसरी सदस्य जियाउल मन्सुरी, रामकुमार मेहता लगायतले शुभकामना मन्तव्य राखेका थिए ।