इटहरीः ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकलाई बैंक जानै पर्ने बाध्यतालाई हटाउन डिजिटल बैंकिङ प्रयोग गर्न अनुरोध गरेको छ ।

ग्लोबल आईएमई बैंकले वित्तीय साक्षरता तथा डिजिटल बैंकिङसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै बैंककी सेन्ट्रल अपरेसन म्यानेजर कमलाकुमारी ओझाले अबको डिजिटल युगमा बैंक जानैपर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्त गर्न ग्लोबल आईएमई बैंक लागिपरेको बताएकी हुन् । कोभिडको मारमा परेको अर्थतन्त्रलाई उकास्न बैंकिङका विभिन्न गतिविधिहरु घरमै बसेर मोबाइल फोन तथा कम्प्युटरको प्रयोग गरी गर्न सकिने भएकाले महामारीको समयमा डिजिटल बैंकिङको प्रयोग गर्न आफ्ना ग्राहकलाई बैंकले अनुरोध गरेको छ । अहिलेको समयमा वाणिज्य बैंकहरु नेपाल राष्ट्र बैंकबाट नियमित निगरानीमा रहेकाले पैसा डुब्ने सम्भावना नरहेको बताउँदै बैंककी सेन्ट्रल अपरेसन म्यानेजर ओझाले खुलेर बैंकिङ कारोबार गर्न र बैंकको फाइदा लिन ग्राहकलाई अनुरोध गरिन् ।

gb2

 धेरै ब्याजको लोभमा मिटर ब्याजमा कारोबार गरिरहेकाहरुलाई मिटर ब्याजबाट साँवा नै डुब्न सक्ने खतरा रहेकोतर्फ समेत ओझाले सचेत गराइन् । ग्लोबल आईएमईले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङको प्रयोग गरी कारोबार गर्न नेपाल टेलिकमसँगको सहकार्यमा निःशुल्क इन्टरनेटको व्यवस्था गरेको बताएको छ । मोबाइल बैंकिङबाटै पैसा एउटा खाताबाट अर्को खातामा पठाउन, स्टेट्मेन्ट हेर्न, मोबाइल रिचार्ज गर्न, पानी तथा बत्तिको बिल तिर्न, आईएमई पे, खल्ति र इसेवाको वालेटमा पैसा हाल्न तथा क्युआर कोड पेमेन्ट गर्न पनि सकिने बैंकले बताएको छ । ग्लोबल आईएमईको मोबाइल बैंकिङबाट ट्रान्जेक्सन हिस्टोरी (कारोबारको विवरण) हेर्न र मुद्दति खातामा रकम टपअप गर्नसमेत मिल्ने बैंकले जानकारी दिएको छ ।

ग्लोबल आईएमईले मिस्ड कल गरेकै भरमा पनि मोबाइलमा एक सय सम्मको रिचार्ज टपअप गर्न सकिने बैंकका बिनर्जग ढुङ्गानाले जानकारी दिए । ढुङ्गानाले उपस्थित ग्राहकलाई मोबाइल बैंकिङका फाइदा र प्रयोग गर्ने तरिकाबारे बताएका थिए । कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंक झुम्का शाखाका प्रबन्धक विनोद कार्कीले शाखा कार्यालय खोलेको ९ महिनामै ग्राहकले निकै विश्वास गरिदिएको बताउँदै अबका दिनमा अझै सेवा प्रवाहलाई परिष्कृत गर्दै लाने बताए । कार्यक्रममा ग्राहकले राखेको जिज्ञासालाई ढुङ्गाना र ओझाले जवाफ दिएका थिए ।