बराहक्षेत्रः नेपाल सरकार खानेपानी डिभिजनको सहयोगमा वि.सं. २०६५ सालमा भरौल खानेपानी सँस्थानको स्थापना भएको थियो । १२ वर्ष बितिसक्दा पनि समितिले आय–व्यय सार्वजनिक सहितको साधारणसभा गरेको छैन ।

स्थापनादेखि नै वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान भएपनि योजना, सर्वे, दर्ता, प्रक्रियाले ढिलाइ भएको अध्यक्ष पुष्प बस्नेतले जानकारी दिएका छन् । ‘२०६६ सालदेखि साधारणसभा गर्नुपथ्र्यो तर आफ्नो मातहतमा कारोबार थिएन’, उनले भने । उनका अनुसार २०७४ चैत १३ गते कार्यालय स्थापना गरेदेखि आर्थिक हिसाबकिताब हुन थालेको हो । साधारणसभा नगरे पनि २०६८ सालयता प्रत्येक वर्ष लेखापरीक्षण गरिरहेको र ७६÷७७ को अन्तिम लेखापरीक्षण गर्ने क्रममा रहेको अध्यक्ष बस्नेतले दाबी गरे । ‘विभिन्न कारणले साधारणसभा गर्न नसके पनि लेखापरीक्षण गरिरहेका छौँ’, उनले थपे, ‘मङ्सिरसम्म हरहिसाब सार्वजनिक गर्ने सोचमा थियौँ तर सकेनौँ, माघभित्र जरुर गर्छौँ ।’ २०६५ मा दर्ता भएको सँस्थानको साधारणसभा नभएको पटकपटक गुनासो आएपछि सँस्थानले माघभित्र समिति विघटन र हस्तान्तरण गर्ने योजना बनाएको अध्यक्ष बस्नेतको भनाइ छ ।

 खानेपानीमा अनुमानित १८करोड ९० लाख बराबरको लागत लागेको थियोे भने उपभोक्ताबाट धरौटीस्वरुप लगभग ५० लाख सङ्कलन गरिएको समिति स्रोतले जनाएको छ । स्रोतका अनुसार धरौटीस्वरुप सङ्कलित रकम इटहरीको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको मुद्दति खातामा राखिएको छ । धेरैजसो स्थानीयले सँस्थानका पदाधिकारीलाई जनतासमक्ष अन्योलको स्थिति सृजना नगरी वार्षिक साधारणसभा गर्न अनुरोध गरेको बताउँछन् भने धेरैले सामाजिक सञ्जालमार्फत् पटकपटक यस कदमको आलोचनासमेत गरेका छन् । अहिले यस सँस्थानबाट बराहक्षेत्र ३,४ र ५ वडाका दुई हजार चार सयभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित बनिरहेका छन् । तत्कालीन भरौल गाविसमा उपलब्ध राजनीतिक दलको सहमतिमा अध्यक्ष पुष्प बस्नेत हुनेगरी भरौल खानेपानी उपभोक्ता समिति गठन भएको थियो । तत्कालीन नेकपा माओवादीका नेता अध्यक्ष बस्नेत अझैसम्म पनि अध्यक्ष रहेका छन् । ७ सदस्यीय समितिका अध्यक्ष बस्नेत, उपाध्यक्ष तथा सचिव जगतबहादुर कार्की र कोषाध्यक्षमा लक्ष्मण चौधरी रहेका छन् । त्यस्तै, सदस्यहरुमा सुरेन्द्र शाक्य, पुजा धामी, नर्वदा पौडेल, इन्द्र राई र पदम श्रेष्ठ छन् ।

के भन्छन् राजनीतिक दल ?
खानेपानी सँस्थानको हरहिसाबमा मात्र नभएर खानेपानी जडानका अन्य काम–कारबाहीमा समेत आफूहरुले चासो राखिरहेको नेपाली कांग्रेस बराहक्षेत्र ५ वडा समितिले जनाएको छ । वडा सभापति दिलबहादुर पौडेलका अनुसार कांग्रेसको खबरदारीका कारण अहिले दुई हजार चार सयभन्दा बढी धारा जडान भइसकेका छन् । सभापति पौडेल भन्छन्, ‘हिसाबकिताब सार्वजनिक र पदाधिकारी हेरफेरबारे हामीले दबाब दिरहेका छौँ ।’ यसैबीच, नेकपा माओवादी केन्द्र बराहक्षेत्र ५ का नवनिर्वाचित अध्यक्ष जीवन परियारले साधारणसभा गरेर हरहिसाब सार्वजनिक गर्न दबाब दिने बताएका छन् ।
नेकपा एमाले बराहक्षेत्र ५ अध्यक्ष सुवास बस्नेतले १२ वर्षअघिबाट निर्माण समितिको रूपमा काम गरिरहेको यस समितिले अब पदाधिकारी हेरफेर गर्नुपर्ने बताए । उनले भने, ‘महिनाको ६ लाख हाराहारीमा आम्दानी देखिन्छ तर आय–व्यय आजसम्म सार्वजनिक गरिएको छैन ।’ यता गत श्रावण महिनामा नेकपा एमाले बराहक्षेत्र ३,४ र ५ संयुक्त वडा कमिटीले हरहिसाब सार्वजनिक गर्न ज्ञापनपत्रसमेत बुझाएको थियो । अध्यक्ष बस्नेतका अनुसार ज्ञापनपत्र लैजाँदा खानेपानी सँस्थानले एक महिनाभित्र हरहिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो । “हामीले राखेका मागहरू पूरा भएनन् भने नेकपा एमाले बराहक्षेत्र ३,४ र ५ वडा कमिटीले खानेपानी कार्यालयमा ताला लगाउँछ’, बस्नेतले भने ।