इटहरीः झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

काठमाडौँको गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा जारी एमाले बैठकले उनलाई एमाले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । केन्द्रीय सदस्यमा मनोनित भएपछि अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले प्रसाईँलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका छन् । प्रसाईँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । ओलीले प्रसाईंका साथै विशाल भट्टराई र ऐन महरलाई पनि केन्द्रीय सदस्य मनोनित गर्न सिफारिस गरेका थिए ।

दुई साताअघि चितवनमा सम्म्पन्न एमाले अधिवेशनकै क्रममा मनोनयन दर्ता गर्ने तरखरमा रहेका प्रसाईँ नेताहरुको सल्लाहपछि पछाडि हटेका थिए । अन्ततः अध्यक्ष ओली सँगको लविङबाटै प्रसाईँले केन्द्रीय सदस्यको पद पाएका हुन् ।