इटहरीः मोरङको पथरीशनिश्चरेमा आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२०च २१६२ नम्बरको स्कोरपिओ र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–६ का ३४ वर्षीय शङ्कर पोखरेलको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार बिहान ९ः४५ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनालगत्तै स्कोरपिओ र चालक सप्तरीको फत्तेपुर–१ का २७ वर्षीय रोशन विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको डीएसपी तिम्सिनाको भनाइ छ ।