इटहरीः १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना संक्रमणबाट बचाउन मोडर्ना खोप दिइने भएको छ ।

सरकारले कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा पाएको १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आज नेपाल आउने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत बिहीबार र शुक्रबार गरी ३६ हजार ६ सय डोज मोडर्ना खोप आइसकेको छ । यो खोप आगामी पुस ४ गतेदेखि देशका ५७ जिल्लामा सञ्चालित विद्यालयका विद्यार्थीहरुलाई दिइने भएको छ । हिमाली जिल्लामा सय भन्दा बढी विद्यार्थी भएको विद्यालय र बाँकी जिल्लामा २ सय बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको छ ।

तर फाइजर खोप लगाउन सुरु गरिएका काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा भने मोर्डनाको खोप नलगाइने मन्त्रालयले प्रष्ट पारेको छ । ती जिल्लाहरुमा फाइजरको थप खोप आएपछि पुनः खोप अभियान सञ्चालन गरिने मन्त्रालयको भनाइ छ ।