धनकुटाः धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना वृद्धि हुँदै गएको पाइएको छ ।

गत वर्षको तुलनामा यो वर्ष करिब दोब्बरको सङ्ख्यामा मानव अधिकार उलङ्घनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कले देखाएको छ । गत वर्ष जिल्लामा ३० वटा मानवअधिकार उलङ्घनका घटना भएकोमा यस वर्ष २७ वटा मानव अधिकार उलङ्घनका घटना बढेर ५७ पुगेको हो । इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ का लागी शनिवार धनकुटामा गरेको वार्षिक पूर्व समीक्षा कार्यक्रममा २०७७ पुस देखि हाल सम्म जिल्लामा ५७ वटा मानवअधिकार उलङ्घनका घटना भएको जानकारी दिइएको हो ।

इन्सेकको तथ्याङ्क अनुसार विगत एक वर्षको अवधिमा २ जनाको हत्या, १ जना माथि कुटपिट, ३२ महिला माथि घरेलु हिंसा र २२ जना महिला तथा बालिका बलात्कृत भएको इन्सेक प्रतिनिधि ईश्वर थापाले जानकारी दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक काशीराम रेग्मी, गैर सरकारी संस्था महासङ्घका अध्यक्ष मीन सुवेदी, इन्सेकका पूर्व अध्यक्ष निल बहादुर थापा, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राई र बार एसोसिएसनका प्रतिनिधि ठगिन कुमार राई लगायतले मानवअधिकारका घटनाको समीक्षा गर्दै यस्ता घटना न्यूनीकरणमा सबैले भूमिका खेल्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गैर सरकारी संस्था महासङ्घ, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म, वन उपभोक्ता महासङ्घका प्रतिनिधिहरू र स्थानीय पत्रकाहरुको सहभागिता रहेको थियो ।