इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामा आज कोरोना विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्राको खोप दिइने भएको छ ।
यसअघि सञ्चालित खोप अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा आज दिइने भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले बताए । खोप वितरणका लागि आधारभूत स्वास्थ्य केन्द्र धरान–१५ पाथीभरा लाइन वडा कार्यालय छेउ र १८ नम्बर वडा कार्यालयमा खोप केन्द्र कायम गरिएको उनको भनाइ छ ।
दोस्रो मात्राको खोप लगाउनका लागि पहिलो मात्रा लगाइसकेको प्रमाणका रुपमा सरकारले जारी गरेको खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, १८ वर्ष र सोभन्दा माथि उमेर समूहका व्यक्तिलाई यसै साताबाट भेरोसेल खोप पनि दिन सुरु गरिने उपमहानगरपालिकाले जनाएको छ । खोप अभियानको मिति भने पछि तय गरिनेछ ।