इटहरीः नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी समर्थित युवाहरुको समुह युवा संघ नेपाल र अनेरास्ववियूको सुनसरी जिल्ला कमिटीले शनिबार पूर्णता पाएको छ । 

शनिबार रामधुनीको झुम्कास्थित कल्पवृक्ष पार्टी प्यालेसमा आयोजना भएको एक कार्यक्रमका बीच दुवै संगठनको जिल्ला कमिटी घोषणा भएको हो । युवा संघ नेपालका सचिव गौरीमान परियारले सोमबहादुर राईको अध्यक्षतामा ९ जना पदाधिकारी र अन्य सदस्यको घोषणा गरे । नवगठित समितिमा विजय लिम्बू, समिम आलम र रितेश पोखरेल रहेका छन् भने सचिवमा प्रकाश दाहाल रहेका छन् । समितिको सह सचिवमा क्रमश राजु कुलुङ्ग राई, प्रतिमा खड्का र निशान्त दाहाल रहेका छन् भने कोषाध्यक्षमा दिक्षा चौधरी चयन भएकी छन् । घोषणा कार्यक्रममा युवा संघ नेपालका सुनसरी सहइन्चार्ज रमेश आचार्यले सदस्यहहरुको नाम वाचन गरेका थिए ।

यसैगरी अनेरास्ववियूले पनि आफ्नो ७१ जनाको जम्बो सुनसरी जिल्ला कमिटीको घोषणा गरेको छ । कार्यक्रममा विद्यार्थी नेता अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्कीले इलाम र उदयपुरपछि सुनसरीमा जिल्ला कमिटी टुङ्गो लगाएको बताए । सुनसरी जिल्ला कमिटीमा अनेरास्ववियूबाट अतित किरण नेपालको अध्यक्षतामा कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा प्रतिरोध खतिवडा र विनय गुरागाईँ चयन भएका छन् भने समितिको सचिवमा आशिष प्रधान छन् । अनेरास्ववियू सुनसरी जिल्ला कार्यसमितिको सहसचिवमा प्रजिन आचार्य, हेमराज खड्का, रिता ढकाल र अरुण कटुवाल चयन भएका छन् भने कोषाध्यक्षमा अमित दाहाल चयन भएका छन् । कार्यक्रममा निर्वाचित कार्यसमितिलाई देश र जनताको पक्षमा काम गर्न केन्द्रीय पदाधिकारीले निर्देशन दिएका थिए ।