इटहरीः झापाको बिर्तामोड नगरपालिका–२ स्थित निधी कलेजनजिक रामचोकभित्री सडक खण्डमा कार र मोटरसाइकल जुधेर दुर्घटना हुँदा शनिबार साँझ एक जनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १९ च ४०५ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना २० प २१८८ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–११ का ५० वर्षीय नगेन्द्र भण्डारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा साँझ ७ बजेतिर मृत्यु भएको डीएसपी तिम्सिनाले बताए । प्रहरीले दुवै सवारी साधन र कारका चालक झापाको बाह्रदशी गाउँपालिका–४ का ३९ वर्षीय टङ्कबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको लापरबाहीका कारण दुर्घटना भएको पाइएको बताउँदै प्रहरीले विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।