इटहरीः झापाको बाह्रदशी गाउँपालिका–३ को त्रिवेणी चोकमामा शनिबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भ्यान चालक बाह्रदशी –१ भागुडुब्बाका ४३ वर्षीय भूपेन्द्र उप्रेती रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार प्र १–०१–००१–ख ३५२४ नम्बरको बस र मे१च २२२६ नम्बरको भ्यान एकआपसमा टोक्किँदा भ्यान चालक उप्रेतीको मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही वडाका ५५ वर्षीया कुमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ का १२ वर्षीय विशाल पौडेल घाइते भएकोमा उनीहरूलाई उपचारार्थ बिर्तामोडस्थित बिएन्डसी अस्ताल पठाइएको प्रहरीले जनाएको छ ।