इटहरीः मोरङको बेलबारी नगरपालिका–८ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा को ५ प ५९५९ नम्बरको मोटरसाइकलका चालक बेलबारी–८ का २९ वर्षीय डम्बर थापा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार सडकमा रोकेर राखिएको प्रदेश १–०२–००३ त ०३८० नम्बरको ट्याक्टरमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ५ प ५९५९ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा गम्भीर घाइते भएका थापालाई उपचारार्थ विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा राति ८ः०० बजे उनको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेलबारी–८ का २८ वर्षीय राजन पराजुली घाइते भएकोमा उनको सोही अस्पतालमा उपचार जारी रहेको डीएसपी तिम्सिनाले बताए । दुर्घटनापछि दुवै सवारी साधन र ट्याक्टरका चालक मोरङको रङ्गेली नगरपालिका–१ का २९ वर्षीय कमलेश चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । प्रारम्भिक अनुसन्धानबाट दुवै सवारीका चालकसँग सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नभएको तथा मोटरसाइकलको तिव्र गतिका कारण दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।