इटहरीः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका अग्रपंक्तिमा रहेका नेता तथा कार्यकर्ताको जिम्मेवारीलाई हेरफेर गर्दै नयाँ जिम्मेवारी दिएको छ ।
पहिले प्रदेश १ को उपाध्यक्ष रहेका बलदेव चौधरीलाई एक नम्बर प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिएको छ । चौधरीले प्रदेश १ को अध्यक्षकै हैसियतले पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सभापतित्व ग्रहण गरिसकेका छन् । यसैगरी, मुना बानियालाई म्याग्दी जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ भने म्याग्दी जिल्लाकै सहइन्चार्जमा गोविन्द सुवेदीले जिम्मेवारी पाएका छन् । यसैगरी, लक्ष्मण केसीलाई सम्पर्क विशेष प्रदेश कमिटी सहइन्चार्ज र संगठन विभाग सदस्यको जिम्मेवारी दिइएको छ । प्रचारप्रसार विभागमा रहेका अशेष घिमिरेलाई स्कुल विभागको सदस्य बनाइएको छ । पार्टीको उद्योग व्यवसाय महासंघ सहइन्चार्ज र पर्यटन विभाग प्रमुखमा राजेन्द्रमान श्रेष्ठ चयन भएका छन् ।
उता विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा समाहित भएकाहरुलाई समेत जिम्मेवार निकायमा समावेश गरेको बताइएको छ । नेकपा माओवादी केन्द्रबाट नेकपा एसमा प्रवेश गरेका रामचन्द्र झालाई केन्द्रीय कानुन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने नेकपा एमालेबाट पार्टी प्रवेश गरेका डा वंशीधर मिश्रलाई जलस्रोत विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । त्यसैगरी, एमालेबाटै नेकपा एसमा प्रवेश गरेका डा.तारा जोशीलाई केन्द्रीय उद्यमशीलता विकास विभाग प्रमुखमा राखिएको छ । उता नेकपा मालेबाट एसमा प्रवेश गरेका कुलप्रसाद फुयाललाई १ नम्बर प्रदेश कमिटीको कार्यालय सदस्यमा मनोनयन गरिएको नेकपा एसले बताएको छ । यसैगरी नेकपा एसले निलमणि बराललाई झापा जिल्ला सहइन्चार्ज र शंकर पोख्रेललाई पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी तोकिदिएको छ ।