इटहरीः नेपाल कम्युनिस्ट पार्टी समाजवादीले पार्टीको प्रशिक्षण र संगठन विस्तारलाई तिव्रता दिएको छ ।
पार्टीले मङ्सिर महिनाभित्रै सम्पन्न गर्नेगरी तय गरेका आठ वटा कामहरुसमेत अन्तिम चरणमा पुगेको बताएको छ । देश दौडाहामा रहेका पार्टीका अध्यक्ष माधव नेपालले मङ्सिर १ गतेबाटै देशका विभिन्न क्षेत्रमा पुगेर पार्टीका अग्रपंक्तिका कार्यकर्तालाई हौसला बढाइरहेको पाइन्छ । उता नेकपा समाजवादीले मङ्सिर महिनाभित्रै सम्पन्न गर्नेगरी केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ नागरिक मञ्चको बैठक सम्पन्न गर्ने तालिका सार्वजनिक गरेको थियो भने केन्द्रीय विभाग र प्रदेश कमिटीहरुलाई पूर्णता दिने कार्य पनि मङ्सिरभित्रै सक्ने बताएको थियो ।
प्रशिक्षणमूलक जिल्ला कार्यकर्ता भेला गरिसक्ने नीतिअनुरुप नेकपा एसले सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर १ मा आआफ्ना जिल्लाका अगुवा कार्यकर्ताको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । पालिका कमिटी र वडा कमिटीहरुसमेत विस्तार गर्ने कार्ययोजनाअनुरुप काम भइरहेको पार्टीले जनाएको छ । नेकपा समाजवादीले मङ्सिर महिनाभित्रै जनसंगठनका जिल्ला भेला गरी कमिटी गठन गर्ने र केन्द्रीय परिषद्लाई पूर्णता दिने साथै दस्तावेज मस्यौदा कमिटीबाट मस्यौदा गर्ने कार्य सम्पन्न गर्ने बताएको थियो ।